
बैंकिङ खबर/ वाणिज्य बैंकहरुले दुई महिनाको अवधिमा १७ खर्ब १६ अर्ब ७० करोड २० लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् ।
राष्ट्र बैंकका अनुसार बैंकहरुले साउन १ देखि असोजसम्म ४ गते उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । १ हजार ६ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । मंगलबारै बैंकहरुले २८ अर्ब १३ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका थिए ।
यो अवधिमा सबैभन्दा बढी भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका छन् । यस्तै साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तो सुविधा लिएका छन् । असोजको २ दिनमा नै ६३ अर्ब ९ करोड ७५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।
बैंकहरुले नगद व्यवस्थापन गर्न धौं धौं परेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन् ।
अहिले राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।




