
बैंकिङ खबर/ चालुु आर्थिक वर्ष सुुरु भएयता राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलताको अभाव हुन नदिन ७० अर्ब रुपैयाँ पठाएको छ । यसमा झन्डै ४५ बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब २३ अर्बको आवेदन परेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बिहीबार मात्रै बैंक तथा वित्तीय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)को अभाव हुन नदिन २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुबाट ३३ अर्ब रुपैयाँबराबरको रिपोका लागि आवेदन परेको हो ।
यसले बैंकिङ प्रणालीमा अझै पनि तरलताको सहजता नरहेको बुुझाउँछ। यद्यपि राष्ट्र बैंकले भने मागभन्दा पनि आफूले जारी गरेको रिपोमात्रै बजारमा पठाउने गर्दछ ।
राष्ट्र बैंकका अनुसार रिपोका लागि ११ बैंक तथा वित्तीय संस्थाले ३१ वटा आवेदनमार्फत ३३ अर्ब रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। जसमा न्युूनतम ८.३४०० प्रतिशत र अधिकतम ८.५३०० प्रतिशत ब्याजदरमा बैंकहरुले उक्त रिपामा आवेदन गरेका हुुन्। यद्यपि यो रिपोको औसत ब्याजदर भने ८.४४५५ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकले आउँदो असोज ६ गते परिपक्व हुने गरी ७ दिने रिपो जारी गरेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।




