
बैंकिङ खबर/ राष्ट्र बैंकले सोमबार जारी गरेको ट्रेजरी बिल बैंक तथा संस्थाहरुले नै खरिद गरेका छन्। राष्ट्र बैंकले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी सोमबार बोलकबोलमा ल्याएकोमा मंगलबार जारी गरिएको छ।
यसपटकको ट्रेजरीमा भने राष्ट्र बैंकले हस्तक्षेप गरेको छैन। राष्ट्र बैंकले असोज २५ गते परिपक्व हुुने गरी २८ दिनका लागि ५ अर्ब रुपैयाँ र मंसिर २७ गते परिपक्व हुने गरी ९१ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी छ।
राष्ट्र बैंकका अनुुसार २८ दिने ट्रेजरी खरिदका लागि ११ बैंक तथा वित्तीय संस्थाले ५६ वटा आवेदनमार्फत ११ अर्ब ६५ करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। जसमा न्यूनतम ८.६९८९ प्रतिशत, अधिकतम ८.९४०१ प्रतिशत र औसत ८.७८५९ प्रतिशत ब्याजदरमा बैंकहरुले नै ट्रेजरी बिल स्वीकार गरेको केन्द्रीय बैंकले जनाएको छ।
यस्तै ९१ दिने ट्रेजरी खरिदका लागि १५ बैंक तथा वित्तीय संस्थाले ७९ वटा आवेदनमार्फत ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको बोलकबोल पेस गरेका थिए। यसमा न्यूनतम ८.८९०१ प्रतिशत, अधिकतम ९.२२०१ प्रतिशत र औसत ९.११०१ प्रतिशत ब्याजदर कायम भएको छ।




