Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

श्रीलंकालाई रेमिट्यान्सले दियो राहत

२०७९ भाद्र २८ गते

बैंकिङ खबर/ श्रीलंकाली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलंकालीहरुबाट प्राप्त रेमिट्यान्सले आर्थिक संकटमा परेको देशमा राहात मिलेको बताउनुभएको छ।

उहाँले उनीहरुबाट पठाइएको रेमिट्यान्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारीमा गएका श्रीलंकालीबाट प्राप्त भएको रेमिट्यान्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो विस्तारै सहज भएको बताउनुभयो । उहाँले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिट्यान्स रकम १४ दशमलब ६ प्रतिशतले बढेको पाइएको जानकारी दिनुभएको छ ।

उहाँले रेमिट्यान्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद पनि दिनुभयो । ‘देश आर्थिक संकटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिट्यान्स रकमका लागि विशेष धन्यवाद छ’– मन्त्री नानकायराले भन्नुभयो ।

गएको वर्षदेखि आर्थिक संकटमा फसेको श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरुको संख्या बढ्दै गएको पाइएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी मानिसहरु वैदेशिक रोजगारीका लागि विदेशिएका बताइएको छ ।

श्रीलंकाका श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री नानायक्काराले यसै वर्षको जनवरीदेखि अगष्ट महिनासम्ममा ती नागरिकले वैदेशिक रोजगार विभागमा दर्ता गराएर नै वैदेशिक रोजगारीका लागि गएको जानकारी दिनुभएको छ।