२०७३ आश्विन १७ गते

७५ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दै सिटिजन्स बैंक

10th-agm-photoसिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना सेयरधनीलाई ७५ करोड छ लाख ७५ हजार सात सय ६२ रुपैयाँ बराबरको वोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले उक्त वोनस सेयर र कर प्रयोजनका लागि तीन करोड ९५ लाख नौ हजार दुई सय ५१ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । वोनस वितरण गरेपछि बैंकको चुक्ता पूंजी ४ अर्व ७५ करोड ११ लाख १२ हजार पुगेको जानकारी दिइएको छ । 

साथै नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम बैंकको चुक्ता पूंजी रु. ८ अर्व पुर्याउने उद्देश्य अनुरुप बैंकले आफनो पूंजी योजना अनुसार चालु आर्थिक वर्ष भित्र १०ः२.५ (२५ प्रतिशत) हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । 

सोही सभावाट समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्न गरिएको निर्वाचनमा मनोहरदास मूल निर्विरोध निर्वाचित भएका छन् । 

उक्त सभामा संचालक समितिको तर्फबाट अध्यक्ष डा. शंकर प्रसाद शर्माज्यूले आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकको वित्तीय स्थितिको बारेमा विस्तृत विवरण समेत प्रस्तुत गरे । आर्थिक वर्ष २०७२।७३ मा थप ११ अर्व ६१ करोड रुपैयाँ निक्षेप परिचालन गरी कूल निक्षेप ४७ अर्व ३९ करोड रुपैयाँ परिचालन गरेको तथा कर्जा लगानीतर्फ थप ११ अर्व ३६ करोड रुपैयाँ वृद्धि गरी कुल ४० अर्व ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिइएको छ । त्यस्तै सोही आ.व.मा बैंकको संचालन मुनाफामा ४२.४५% र खुद मुनाफामा ४९.९९% वृद्धि भई क्रमश रु. १ अर्व ५६ करोड ४९ लाख तथा १ अर्व ८ करोड ३ लाख आर्जन गरेकोे अध्यक्ष डा. शर्माले जानकारी गराए ।

अध्यक्ष डा. शर्माले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउँदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराए ।