
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले प्रभुु र सेन्चुुरी कर्मसियल बैंकबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको हालै बसेको बोर्ड बैठकले प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
प्रभु बैंक र सेन्चुरी बैंकबीच गत साउन १५ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। दुुवै बैंकले प्रारम्भिक सम्झौता गरेको १ महिनापछि नियामकबाट सैद्धान्तिक स्वीकृति पाएका हुन्। दुवै बैंकले बराबरी हैसियत अर्थात १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका छन्।
मर्जरपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। मर्जरपछि प्रभुको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
राष्ट्र बैंकका अनुसार अब यी दुवै बैंकले ३ महिनाभित्र सम्पूर्ण सम्पति तथा दायित्व मूल्यांकन गराएर मर्जरको अन्तिम स्वीकृति लिइसक्नुपर्नेछ। राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएको १ महिनाभित्रै एकीकृत कारोबार गर्नुपर्नेछ।




