Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पिपुल्स पावरको आईपीओ बाँडफाँड हुँदै, खप्तड लघुवित्तको आवेदन दिने अन्तिम दिन

२०७९ भाद्र १२ गते

बैंकिङ खबर/ पिपुल्स पावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीले आइपीओ प्रि अलोटमेन्टको काम सम्पन्न गरी बाँडफाँड गर्न लागिएको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । त्यसमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिने व्यवस्था थियो ।

सिडिएससी बाट प्राप्त जानकारी अनुसार भदौ ५ गते बिहान १० बजे सम्ममा १३ लाख ८९ हजार ९ सय ८५ जना आवेदकले १ करोड ५८ लाख १६ हजार ९० कित्ताको लागि रु १ अर्ब ५८ करोड १६ लाख ९ हजार बराबरको आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा ६.८९ गुणा बढी हो।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यसैबीच खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गरेको हो। यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

Ad