
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको ट्रेजरी बिल तेस्रो पटक आफैँले खरिद गरेको छ । आज जारी गरिएको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरीको हिजो सोमबार बोलकबोल गरिएको थियो। बोलकबोलपमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा मनोमानी गरेपछि यी ट्रेजरी बिलको ठूलो हिस्सा राष्ट्र बैंकले खरिद गरेको हो ।
मंगलबार राष्ट्र बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ । २८ दिने ५ अर्ब रुपैयाँको ट्रेजरीमा १६ बोलपत्रदाताबाट ६१ बोलपत्र परेको थियो।
बोलपत्रको कुल रकम ११ अर्ब ८२ करोड रुपैयाँमा रहेकोमा १ अर्ब रुपैयाँबराबर ट्रेजरी बिल बोलपत्रदाताले खरिद गरेका छन् भने राष्ट्र बैंकले ४ अर्ब रुपैयाँको ट्रेजरी बिल आफैँले किनेको छ । यसको न्यूनतम, अधिकतम र औसत व्याजदर ८.९९९४ प्रतिशत रहेको छ ।
यस्तै ९१ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिलमा २० बोलपत्रदाताबाट ६२ बोलपत्र परेको थियो । बोलपत्रको कुल रकम ७ अर्ब ४५ करोड ५० लाख रुपैयाँबराबर रहेकोमा ७ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बोलपत्रदाताले किनेका छन् भने राष्ट्र बैंकले १ अर्ब ९२ करोड ५० लाख रुपैयाँको ट्रेजरी खरिद गरेको छ। यसमा न्यूनतम, अधिकतम र औसत ब्याजदर ९.५००४ प्रतिशत छ।
यसैगरी १८२ दिने ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी भएकोमा १६ बोलपत्रदाताबाट ६२ बोलपत्र परेको थियो। बोलपत्रको कुल रकम १० अर्ब ९६ करोड ५० लाख रुपैयाँ रहेकोमा बोलपत्रदाताले २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल खरिद गरेका छन्। यस्तै राष्ट्र बैंकले ५ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल किनेको छ। यसको न्यूनतम, अधिकतम र औसत व्याजदर क्रमशः ९.८० प्रतिशत, ९.९९९१ प्रतिशत र ९.८९५३ प्रतिशत रहेको छ ।
२८ र ९१ दिनको ट्रेजरी बिलको न्यूनतम, अधिकतम र औसत व्याजदर एउटै भएकोले जम्मा एउटा बोलपत्रदाताले पाएको छ । १८२ दिनको हकमा भने कम्तीमा २ वटा बोलपत्रदाताले पाएका छन् ।
१३ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरणका लागि ३० अर्ब २४ करोड रुपैयाँÞको बोलपत्र परे पनि बोलपत्रदातालाई १ अर्ब ३३ करोड ५० लाखÞ रुपैयाँको मात्र बेचेर राष्ट्र बैंक आफैँले ११ अर्ब ६६ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल किनेको छ ।
विगत ३ हप्तामा राष्ट्र बैंकले २८ अर्ब ५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल खरिद गरेको छ ।
साउन ८ गते नवीकरणको लागि बिक्री भएको ट्रेजरी बिल्समा १४ प्रतिशतसम्म ब्याजदर बैंक तथा वित्तीय संस्थाले पाएका थिए । त्यसपछि भने राष्ट्र बैंकले ट्रेजरी बिल्स आफैं खरिद गर्न थालेको हो ।
‘ट्रेजरी’ बिल के हो ?
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन ।
ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र ट्रेजरी बिल आवेदन खातामा ड जम्मा गरी भौचर यस विभागमा पेश गर्नु पर्दछ र बोलकबोलमा सफल भए पश्चात् बुझाउनु पर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्रऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आप्mनो यस बैंकमा रहेको खातामा मौज्दात कायम गर्नु पर्दछ । बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाकोअर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ ।
ट्रेजरी बिलको बोलकबोलमा न्यूनतम ५० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रूपैंयाले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न सकिन्छ । ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गर्ने गरिन्छ । बोलकबोलको परिणामको जानकारी पनि मंगलबार नै दिने गरिन्छ । ट्रेजरी बिल बोलकबोलको सूचना नेपाल राष्ट्र बैंकको वेबसाइट (www.nrb.org.np) का साथै अनलाइन बिडीङ प्रणाली (http:\\ obss.nrb.org.np/pd) मार्फत प्रकाशित गरिन्छ ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलकोबाँडफाँट गरिन्छ । बोलकबोल भएको भोलिपल्ट निष्कासन मितिका दिन सफल बोलवाला मध्ये नेपाल राष्ट्र बैंकमा खाता हुनेको यस बैंकमा रहेको खाता र खाता नहुनेको हकमा ट्रेजरी बिल आवेदन खाता खर्च गरी हिसाब मिलान गर्ने गरिन्छ । बोलकबोलमा सफल बोलवालालाई प्रमाणको रूपमा विवरणसहितको प्रमाणपत्र (Advice) उपलब्ध गराइन्छ । ट्रेजरी बिलको निष्कासनमा डिस्काउण्ट रकम कटाएर बाँकी रकम मात्र जम्मा गरिन्छ भने तोकिएको मितिमा पूरा रकम (प्रमाणपत्रमा अंकित मूल्य) भुक्तानी गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्रऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ ।




