
बैंकिङ खबर/ नेपालका बैंक तथा वित्तीय संस्था र लघुवित्तमा रहेका प्राकृतिक व्यक्तिहरूको कुल निक्षेपमध्ये झण्डै ९ खर्ब रुपैयाँको बीमा (सुरक्षण) भएको पाइएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषका अनुसार ‘क’ देखि ‘घ’ वर्गसम्मका वित्तीय संस्थामा रहेका सर्वसाधारण (प्राकृतिक व्यक्ति) को ३ करोड ६९ लाख ५९ हजार ७७ वटा खातामा रहेको निक्षेपमध्ये ८ खर्ब ९१ अर्ब ८२ करोड रुपैयाँको बीमा भएको हो ।
कोषका अनुसार गत असारसम्म सर्वसाधारणको ३ करोड ३७ लाख १८ हजार ८५ वटा खातामा रहेको ८ खर्ब ७९ अर्ब २१ करोड रुपैयाँ निक्षेपको बीमा भएको थियो । व्यक्तिगत खाताको निक्षेपको प्रतिखाता न्यूनतम ३ लाख रुपैयाँ बीमा गर्नुपर्ने प्रावधान रहेको छ ।
यो बीमाबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र कोषले ३५ करोड ६७ लाख २९ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । गत आर्थिक वर्षमा कोषले १ अर्ब ३७ करोड ४० लाख ८२ हजार रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सर्वसाधारणको निक्षेपमध्ये ५ लाख रुपैयाँसम्मको बीमा हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था कार्यान्वयनका लागि कोषले निक्षेप सुरक्षण नियमावली संशोधन गरेर अर्थ मन्त्रालय पठाएको थियो । अर्थमन्त्रीमा जनार्दन शर्माको पुनर्बहालीसँगै उहाँले उक्त नियमावली स्वीकृत गर्नुभएको छ ।
यो व्यवस्था कार्यान्वयनका लागि उक्त निर्णय राजपत्रमा प्रकाशित हुनुपर्छ । राजपत्रमा प्रकाशित भइसकेपछि पनि आउँदो असोजदेखि मात्र प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने कोषले जनाएको छ ।
निक्षेपको बीमाबारे सरकारको पछिल्लो व्यवस्था कार्यान्वयनमा नआइसकेकाले हाल बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा रहेको प्राकृतिक व्यक्तिको खाताको रकममध्ये प्रतिखाता ३ लाख रुपैयाँका दरले बीमा गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । हाल कोषले ६२ वटा संस्थाको निक्षेप सुरक्षण गर्दै आएको छ । आर्थिक वर्ष ०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले निक्षेप बिमाको सीमा बढाएर प्रतिखाता २ लाखबाट ३ लाख रुपैयाँ पु¥याएको थियो ।
निक्षेप सुरक्षण भनेको के हो ?
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दति खातामा राखेको निश्चित सीमा सम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो । हाल प्राकृतिक व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको ३ लाखसम्मको रकमको सुरक्षण गरिएको छ ।




