
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गरेको छ । केन्द्रीय बैंकले सोमबार नवीकरणका लागि ९१ दिन अवधिको ५ अर्ब १० करोड र १८२ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो ।
बैंकहरूले ब्याजदरमा जथाभावी बोलकबोल गरेपछि त्यसलाई निरुत्साहन गर्न सोमबारको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको हो । राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिलको लागि २७ बैंक तथा वित्तीय संस्थाले १० अर्ब ३ करोडको बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थालाई १२ करोड रुपैयाँको मात्रै ट्रेजरी बिल नवीकरण गरेर ४ अर्ब ९० करोड रुपैयाँको आफैंले खरिद गरेको छ ।
त्यस्तै १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलमा १८ बैंक तथा वित्तीय संस्थाले ६ अर्ब ३१ करोड बराबरको बोलकबोल पेश गरेका थिए । उक्त ट्रेजरी बिल पनि बैंकहरुलाई १० करोड रुपैयाँको मात्रै नवीकरण गरेर ४ अर्ब ९० करोड राष्ट्र बैंक आफैंले खरिद गरेको छ ।
१० साउनमा नवीकरणको लागि ल्याइएको ट्रेजरी बिलमा बोलकबोल गरेको ब्याजदर भन्दा सोमबार बैंकहरुले घटाएका छन् । यद्यपि राष्ट्र बैंकले बैंकहरुलाई ट्रेजरी बिल नदिएर आफैं खरिद गरेको छ ।



