
बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता राष्ट्र बैंकले ल्याएको विभिन्न नीतिले बढी चर्चा पायो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ ।
मौद्रिक नीतिमा प्रतिक्रिया

नेपाल राष्ट्र बैंकले नयाँ आवको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिएको हो ।मौद्रिक नीतिमा ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत कायम गरिएको छ भने बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्याइने जनाइएकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा यो साताभरि प्रतिक्रिया आएका छन् ।
अर्थमन्त्री प्रकरणः बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश नगरेको निष्कर्ष

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।
बिहीबार प्रतिवेदन लेखन कार्य पूरा भएपछि समितिले शुक्रबार दिउँसो समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई बुझाउनुभएको हो । पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष छानबिन समितिले अनधिकृत व्यक्तिले बजेटमा करको दर हेरफेर गरेको पुष्टि नभएको निष्कर्ष निकालेको छ।
सिसिटिभी फुटेज र कर्मचारीहरूसँगको बयान लिँदा जेठ १४ गते अनधिकृत व्यक्तिको अर्थ मन्त्रालयमा प्रवेश पुष्टि नभएकाले उनको संलग्नतामा करका दर हेरफेर भएको पुष्टि नहुने समितिको ठहर छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिनुभएको थियो।
राष्ट्र बैंकको सर्वेक्षणः तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ।
सर्वेक्षण अन्तर्गत राष्ट्र बैंकले गत असार २० देखि असार २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत सम्पन्न गरिएको थियो। सर्वेक्षण आएका परिणामहरु ११४१ सहरी व्यक्तिको प्रतिक्रियामा आधारित छन्।
अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्ति थपिएको राष्ट्र बैंकले जनाएको छ। सर्वेक्षणका क्रममा ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी ९४.४ प्रतिशत उत्तरदाताले आगामी १ वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।
आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ।
अन्तरबैंक ब्याजदर उच्च
अन्तरबैंक र ट्रेजरी बिलको ब्याजदर उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ८ गते अन्तरबैंक ब्याजदर बढेर ८.४५ पुगेको छ । साउन ७ गते यस्तो ब्याजदर ७ प्रतिशत थियो।
नेपाल राष्ट्र बैंकले बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने नीति अवलम्बन गरेको छ । त्यसको प्रत्यक्ष प्रभाव बैंकिङ प्रणालीमा पर्न थालेको देखिन्छ ।
अन्तरबैंक ब्याजदरसँगै ट्रेजरी बिलको ब्याजदर पनि झन्डै १४ प्रतिशत पुगिसकेको छ । यसअघि ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत माथि थियो।
लक्ष्मी बैंकको सीईओमा पुनः शाह

लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाह पुनः नियुक्त हुनुभएको छ । चार वर्षे कार्यकाल सक्नुभएका शाहकलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त हुनुभएको थियो ।
धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य सात बुँदा
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सेबोनले एक कार्यक्रमबीच धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। सेबोन अध्यक्ष रमेशकुमार हमालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।
बोर्डको नीति तथा कार्यक्रममा समेटिएका मुख्य बुँदा
- बोर्डले बुक बिल्डिङ प्रणालीलाई दिगो बनाउने योजना अघि सारेको छ । बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय स्वचालित विद्युतीय प्रणाली बनाएर दिगो र स्थापित कम्पनीहरूलाई धितोपत्र बजारमा ल्याउने ।
- गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला गर्न थप कानुन संशोधन र परिमार्जन गर्ने ।
- वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत आरक्षण छुट्याउने विषयमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गर्ने ।
- वस्तु विनिमय बजार सञ्चालनका लागि आवश्यक कानुन तयार गरी दरखास्त आह्वान गर्ने र अनुमतिपत्र प्रदान गरी सञ्चालन व्यवस्था गर्ने ।
- बोर्डको जग्गा प्राप्तिको कार्य अगाडि बढाइने, सरकारद्वारा सरकारबाटै खरिद गर्ने तयारी (जिटुजी) ।
- बोर्डका कर्मचारीको मनोबल उच्च बनाउनका लागि कर्मचारीलाई ‘कर्मचारी सुविधा योजना’ (ओवाइभिएस) तर्जुमा गरी लागू गर्ने भएको छ ।
- कर्मचारीलाई सवारीसाधन खरिद गर्न कर्जा उपलब्ध गराउने भएको छ ।
बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स नवीकरण गर्न बीमा समितिको आग्रह
बीमा समितिले बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको छ । समितिले बिहीबार एक सूचना जारी गर्दै अभिकर्ता र सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको हो ।बीमा अभिकर्ता तथा सर्भेयरहरुको इजाजतपत्रहरु प्रत्येक चैत मसान्त भित्रमा नवीकरण गरिसक्नु पर्ने व्यवस्था रहेको छ । त्यस अनुसार २०७९ को लागि नवीकरण गराउन छुट भएका बीमा अभिकर्ता तथा सर्भेयरहरुले आफ्नो इजाजतपत्र समयमै नवीकरण गराउन आग्रह गरेको हो ।
२०७९ असोज मसान्तपछि बिलम्ब शुल्क तिरेर नवीकरण गर्न सकिने कानुनी व्यवस्था रहेको पनि समितिले जनाएको छ ।