
बैंकिङ खबर/ चालु आर्थिक वर्षमा पनि तरलता अभाव कायमै रहेको छ । चालु आर्थिक वर्षको ८ दिनमा वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकबाट २ खर्ब २७ अर्ब रुपैयाँ ऋण लिएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप बढाउन नसकेपछि वित्तिय व्यवस्थापनका लागि केन्द्रीय बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लिएका हुन् ।
विगतमा वाणिज्य बैंकले ७ दिनका लागि स्थायी तरलता सुविधा (एसएलएफ) पाउने गरेका थिए । र, त्यसरी कर्जा लिँदा ७ प्रतिशत मात्रै ब्याजदर लिने गरिएको थियो ।
तर, साउन ६ गते सार्वजनिक मौद्रिक नीतिले ५ दिनका लागि मात्रै एसएलएफ दिने व्यवस्था गरेको छ । एसएलएफमार्फत् लिने कर्जाको ब्याजदर पनि ८.५ प्रतिशत पुगेको छ । यस्तै चालु आर्थिक वर्षमा बैंक तथा वित्तिय संस्थाले स्वदेशी मुद्राको कुल निक्षेपको १ प्रतिशत भन्दा बढी स्थाइ तरलता सुविधा समेत पाउने छैनन् ।
साउन ७ गतेसम्म बैंक तथा वित्तिय संस्थाले ५० खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसमा विदेशी मुद्रामा संकलन गरिएको निक्षेप करिब ६० अर्ब रुपैयाँ छ । त्यसका आधारमा बैंक तथा वित्तिय संस्थाले स्वदेशी मुद्रामा संकलन भएको कुल निक्षेपको एक प्रतिशतका आधारमा एक दिनमा ५० अर्ब रुपैयाँ भन्दा बढी एसएलएफ सुविधा लिन पाइने छैन् ।
जस्तो गत साउन २ गते बैंक तथा वित्तिय संस्थाले एकै दिनमा ६१ अर्ब ७४ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका थिए । अब, निक्षेपको १ प्रतिशत भन्दा बढी एसएलएफ सुविधा लिन थप २ प्रतिशत ब्याज तिर्नु पर्नेछ ।
राष्ट्र बैंकले एसएलएफ लिन निरुत्साहित गर्ने गरी नीति लिँदा समेत आइतबार मात्रै वाणिज्य बैंकले राष्ट्र बैंकबाट ३७ अर्ब ५७ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका थिए । यो आर्थिक वर्षको ८ दिनमा बैंकहरुले १०३ पटक एसएलएफ लिइसकेका छन् ।
के हो स्थायी तरलता सुविधा ?
बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।




