
बैंकिङ खबर/ नयाँ आर्थिक वर्ष लागेसँगै वाणिज्य बैंकहरुको निक्षेप संकलन ६३ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार नयाँ आर्थिक वर्ष लागेदेखि बैंकहरुमा निक्षेप संकलन लगातार घट्दै गएको छ।
चालु आर्थिक वर्षको पहिलो ४ दिनमानै बैंकहरुबाट ६३ अर्ब रुपैयाँ निक्षेप संकलन घटेको छ। असार ३२ गतेसम्ममा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन साउन ४ गतेसम्ममा घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ।
असारमा सरकारको खर्च बढ्दा बैंकहरुमा डेढ खर्ब बढी निक्षेप थपिएको थियो। तर त्यसको झण्डै आधा रकम नयाँ आर्थिक वर्ष लागेको ४ दिनमानै बाहिरिसकेको छ।
गत आर्थिक वर्षमा बैंकहरुको निक्षेप संकलन जम्मा ८ प्रतिशतले मात्रै बढेको थियो। बैंकहरुको निक्षेप संकलन घट्दै जाँदा उनीहरुको सिडि रेशियो भने बढ्दै गएको छ। ८६ प्रतिशतमा झरेको बैंकहरुको सिडि रेशियो बुधबारसम्ममा ८७.९६ प्रतिशत पुगिसकेको छ।
यो ४ दिनमा बैंकहरुको कर्जा लगानी उल्टै १४ अर्ब रुपैयाँले घटेको छ। गत वर्ष पनि तरलता अभावका कारण बैंकहरुले कर्जा लगानी धेरै बढाउन सकेको थिएनन्। केन्द्रीय बैंकले १९ प्रतिशतको लक्ष्य राख्दा बैंकहरुको कर्जा लगानीको बृद्धिदर १२ प्रतिशतमा सिमित भएको थियो।




