
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला आउँदो आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति निर्माणको अन्तिम चरणमा पुगेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति ल्याउन लागेको हो । मौद्रिक नीतिका लागि राष्ट्र बैंकले जेठबाट नै सुझाव मागेको थियो भने अहिले विभिन्न संघसंस्थासँग अन्तरक्रिया समेत गरेको छ ।
राष्ट्र बैंकलाई बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने चुनौती छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरु खस्किएको अवस्था छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । यस्तो अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती समेत राष्ट्र बैंकलाई छ ।
विगतका वर्षहरुमा मौद्रिक नीति साउनको पहिलो हप्ता भित्र सार्वजनिक गरिएको थियो । यस वर्ष पनि साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने तयारी गरिएको छ । गत वर्ष भने गभर्नर अधिकारीले साउन २९ गते मौद्रिक नीति ल्याउनुभएको थियो । त्यसभन्दा अघि आव २०७७/७८ को मौद्रिक नीति साउन २ गते ल्याइएको थियो । त्यसअघि चिरञ्जीवि नेपालको गभर्नर हुँदा पनि साउन २ गते नै मौद्रिक नीति ल्याइएको थियो ।
कसिलो मौद्रिक नीति ल्याउने तयारी
गभर्नर महाप्रसाद अधिकारीले कसिलो मौद्रिक नीति ल्याउने संकेत गर्दै आउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले अर्थतन्त्र केही असजिलो भएको वेला छ, यस्तो वेला सबै सहज हुँदैन, कोही न कोहीले केही न केही सहनुपर्ने हुन्छ, एक–आपसमा असहजता सहने वेला हो । ब्याज बढ्न सक्छ, कुनै क्षेत्रलाई अलि बढी असजिलो हुन सक्छ, तर समग्रमा अर्थतन्त्र अप्ठ्यारोबाट बाहिर निकाल्ने हाम्रो प्रयास हुन्छ ।’
अहिलेको परिस्थितिअनुसार खासगरी साना तथा मझौला उद्योग–व्यवसाय, कृषि, विपन्न वर्गलगायतलाई हेरेर मौद्रिक नीति ल्याउने उहाँको भनाइ छ । उहाँले आन्तरिक उत्पादन बढाउनेतर्फ धेरै सुझाव आएको र त्यसलाई सम्बोधन गरिने बताउनुभयो । कोडिभकालमा अर्थतन्त्र पुनरुत्थानका लागि दिइएका सुविधाहरू क्रमशः कटौती गरिँदै आएको र त्यसले निरन्तरता पाउने उहाँको भनाइ छ ।
राष्ट्र बैंकले बैंक वित्त कम्पनीसँग ५० खर्बको स्रोत रहेको र यसलाई उत्पादनमुखि बनाउन नसके अहिलेको विषय परिस्थिति झन् भयावह हुने जनाएको छ। सोही अनुसार मौद्रिक नीतिको तयारी भैरहेको राष्ट्र बैंकले बताएको छ।
आयतित सामग्रीमा कडाई गरिने
नेपालको विदेशी मुद्रा सञ्चिति महिनैपिच्छे घट्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड थियो ।
यसरी विदेशी मुद्राको सञ्चिति घटिरहेको बेला नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा आयातित सामग्रीमा थप कडाइ गर्ने जनाएको छ । देश अहिले आर्थिक संकटतर्फ गइरहेको अवस्था छ ।
जेठ मसान्तसम्ममा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँको रहेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ। यो अवस्थालाई सुधार गर्ने गरि मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक रहेको छ।
राष्ट्र बैंकले गएको जेठ २६ गते एक निर्देशन जारी गर्दै केराउ, सुपारी, मरिच र छोकडाको आयातमा थप कडाई गरेको थियो । राष्ट्र बैंकले उद्योगले औद्योगिक प्रायोजनको लागि यी वस्तु आयात गर्दा पनि अनिवार्य रुपमा नगद मार्जिन राख्नु पर्ने ब्यवस्था गरेको थियो ।
नेपाल सरकारले नेपाल राजपत्रमा फागुन २६ गते सूचन प्रकाशन गरेर केराउ, सुपारी र मरिच औद्योगिक प्रयोजनको लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफै आयात गर्न सक्ने गरि आयात खुलाएको थियो । त्यस अघि यी वस्तुको आयात बन्द गरिएको थियो ।
तर अब राष्ट्र बैंकले उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैले यी वस्तु आयात गर्दा पनि नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको छ । राष्ट्र बैंकले औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
के हो कसिलो मौद्रिक नीति ?
विभिन्न अर्थशास्त्री, बैंक विज्ञ तथा पूर्व गभर्नरहरूले समेत कसिलो मौद्रिक नीति ल्याउन सुझाव दिइ रहेका छन् । वास्तवमा बजारमा पैसा सप्लाईमा कडाइ गर्नु नै कसिलो मौद्रिक नीति भएको नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल बताउनुहुन्छ । कसिलो मौद्रिक नीति ल्याउँदा बजारमा पैसाको अभाव हुने स्थिति आउने उहाँको बुझाइ छ ।
यस्तै, सिडी रेसियो घटाएर, नेट एलडी रेसियो बढाएर, सीआरआर र एसएलआर बढाएर र सबैभन्दा महत्वपूर्ण विषय ब्याजदर बढाएर लगायतका मौद्रिक उपकरणहरू प्रयोग गरेर कसिलो मौद्रिक नीति बनाइने उहाँको भनाइ छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री भने व्यक्तिको खल्तिमा पैसाको अभाव हुने खालको नीति ल्याउनु नै कसिलो मौद्रिक नीति भएको बताउनुहुन्छ ।




