
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला आउँदो आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति ल्याउन लागेको हो । मौद्रिक नीतिका लागि राष्ट्र बैंकले जेठबाट नै सुझाव मागेको थियो भने अहिले विभिन्न संघसंस्थासँग अन्तरक्रिया समेत राष्ट्र बैंकले गर्दै आएको छ ।
राष्ट्र बैंकलाई बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने चुनौती छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरु खस्किएको अवस्था छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । यस्तो अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती समेत राष्ट्र बैंकलाई छ ।
विगतका वर्षहरुमा मौद्रिक नीति साउनको पहिलो हप्ता भित्र सार्वजनिक गरिएको थियो । यस वर्ष पनि साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने तयारी गरिएको छ । गत वर्ष भने गभर्नर अधिकारीले साउन २९ गते मौद्रिक नीति ल्याउका थिए । त्यसभन्दा अघि आव २०७७/७८ को मौद्रिक नीति साउन २ गते ल्याइएको थियो । त्यसअघि चिरञ्जीवि नेपालको गभर्नर हुँदा पनि साउन २ गते नै मौद्रिक नीति ल्याइएको थियो ।
अर्थमन्त्री नै बाहिरिएपछि…

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिइ सकेका छन् । उनीमाथि छानबिनका लागि संसदीय छानबिन समिति समेत गठन भएको छ ।
मौद्रिक नीतिको तयारी गरिरहँदा अर्थमन्त्रालय नेतृत्व विहीन बनेको छ भने प्रधामन्त्री शेरबहादुर देउवाले नै अर्थमन्त्रालयको जिम्मेवारी लिएका छन् । तत्कालिन मन्त्री शर्माले जेठ २२ गते ल्याएको बजेट भने प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पास भइसकेको छ । देउवाले अर्थमन्त्रीको जिम्मेवारी अरुलाई नदिँदै राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको स्रोतले बताएको छ ।
गभर्नरनै विवादमा मुछिएपछि

मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको राष्ट्र बैंक गभर्नर अधिकारी विवादमा मुछिएपछि थप अन्योलता छाएको छ । मंगलबार नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम.अधिकारीको नाम आएपछि शंका गभर्नरमाथि सोझिएको छ ।
घनश्याम भुसाल प्रमुख रहेको नेकपा एमालेको विभागीय अर्थ तथा योजना विभागको सदस्यमा खोटाङ घर भएका ‘एम अधिकारी’ मनोनित भएको समाचार सार्वजनिक भएको थियो । खोटाङ घर भएका ‘एम अधिकारी’ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै उनको चर्का आलोचना भइरहेको छ । यसअघि पनि राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकास भएपछि उनी सुरेन्द्र पाण्डे नेतृत्वमा सोही विभागका सदस्य बनेका थिए ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ । ऐनको दफा २२ को उफदफा ५ मा दफा २१ बमोजिम अयोग्य भएमा पदमुक्त हुने व्यवस्था छ । सरकारले जाँचबुझ समिति गठन गरेर मात्रै पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
गभर्नर अधिकारी विवादमा मुछिएपछि छानविन गर्न माग गर्दै संसदमा समेत यस विषय उठेको छ ।
यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारलाई तत्काल बर्खास्त गर्न माग गरेको छ भने धितोपत्र बजारका लगानीकर्ताहरूले गभर्नर अधिकारीविरुद्ध आन्दोलन चर्काएका छन् ।
पूर्व अर्थमन्त्री शर्माले पनि दिएका थिए मौद्रिक नीतिमा सुझाव
राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा पूर्व अर्थमन्त्री जनार्दन शार्माले पनि सुझाव दिएका थिए । लामो समयको तिक्ततापछि शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच एकै कार्यक्रममा भेट भएको थियो ।
आगामी मौद्रिक नीतिका सम्बन्धमा गभर्नर अधिकारीले शर्मासँग मन्त्रालय पुगेर परामर्श गरेका थिए । निलम्बन र पुनर्बहाली प्रकरणपछि राष्ट्र बैंकको एजेण्डा बोकेर उनी पहिलो पटक अर्थमन्त्री शर्मालाई भेट्न अर्थमन्त्रालय पुगेका थिए ।
अर्थमन्त्रालयमा करिब ४५ मिनेट बिताएका गभर्नरले अर्थमन्त्रालय मौद्रिक नीतिबाट के चाहन्छ भनेर बुझ्न चाहेको बताएका थिए । गभर्नर अधिकारीले आगामी बजेटका लक्ष्यहरुलाई सघाउ पुग्ने गरी मौद्रिक नीति तर्जुमा गर्ने बताउँदै आफ्ना केही योजनाहरु पनि बताएका थिए भने अर्थमन्त्री शर्माले ‘राम्रोसँग अध्ययन गरेर मौद्रिक नीति ल्याउन’ सुझाव दिएका थिए ।
प्रधानमन्त्रीले कति देलान चासो

अर्थमन्त्रीको राजीनामासँगै उक्त मन्त्रालय देउवाले आफैसँग राखेका छन् । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्र सुधार्ने गरी मौद्रिक नीति ल्याउन गभर्नर अधिकारीलाई निर्देशन दिएका छन् । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले वर्तमान आर्थिक अवस्था सुध्रिने गरी नीति ल्याउन आग्रह गरे । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीसँग मुलुकको पछिल्लो आर्थिक अवस्थाका बारेमा छलफल गरेका हुन् ।
गभर्नर अधिकारीले मुलुकको आर्थिक क्षेत्रमा अहिले देखापरेका समस्या सम्बोधन हुने गरी मौद्रिक नीति तयार भइरहेको जवाफ प्रधानमन्त्री देउवालाई दिएका थिए । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीसँग मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छलफल गरेको बताए । गभर्नर अधिकारीले प्रधानमन्त्री देउवालाई मुलुकको आर्थिक अवस्थाको बारेमा जानकारी गराएका थिए । राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ ।




