
बैंकिङ खबर/ अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । आइपीओमा आवेदन दिएका मध्ये एक लाख ८२ हजार ४७ जनाले सेयर पाएका छन् । पाँच जनाले ११ कित्ता र बाँकी आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेदन रद्द भएको थियो ।
अपर सोलुले असार २० देखि २३ गतेसम्म १९ करोड ५७ लाख ५० हजार रुपैयाँको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याएर बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आइपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
यसैबीच सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। निष्काशन बन्द छिटोमा साउन २० गते हुनेछ भने ढिलोमा भदौ ५ गते हुनेछ। आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।