
बैंकिङ खबर/ विवादमा तानिएपछि गभर्नर महाप्रसाद अधिकारी यतिबेला तनावमा छन् । गभर्नर अधिकारी बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रम पनि सहभागी भएनन् ।
गभर्नर अधिकारी पूर्वनिर्धारित मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा सहभागी नभएर डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठाएका हुन् । आयोजकले भने प्राविधिक कारणले गभर्नर अधिकारी कार्यक्रममा सहभागी हुन नसकेको जनाएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गभर्नर अधिकारीलाई बोलाइएको थियो ।
बिहीबारका लागि तय भएको मौद्रिक नीतिको बहस कार्यक्रममा पनि सहभागी नहुने भएपछि केहि कार्यक्रमहरु रद्द नै गरिएको छ ।
मंगलबार नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम.अधिकारीको नाम आएपछि शंका गभर्नरमाथि सोझिएको छ । घनश्याम भुसाल प्रमुख रहेको नेकपा एमालेको विभागीय अर्थ तथा योजना विभागको सदस्यमा खोटाङ घर भएका ‘एम अधिकारी’ मनोनित भएको समाचार सार्वजनिक भएको थियो ।
खोटाङ घर भएका ‘एम अधिकारी’ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै उनको चर्का आलोचना भइरहेको छ । यसअघि पनि राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकास भएपछि उनी सुरेन्द्र पाण्डे नेतृत्वमा सोही विभागका सदस्य बनेका थिए ।



