
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चितिमा सुधार नहुँदासम्म तरलता समस्या समाधान नहुने बताएको छ ।
मंगलबार नेपाल लघुवित्त संघले आयोजना गरेको मौद्रिक नीति छलफल कार्यक्रममा राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
उहाँले विगतमा तरलता सहज हुँदा त्यसको लाभ लघुवित्तले उठाएको र अहिले स्रोत भएन भनेर गुनासो नगर्न आग्रह गर्नुभयो । राष्ट्र बैंकले लघुवित्तलाई तीन दशकदेखि प्रवर्द्धन गर्दै आए पनि त्यसको लाभ अर्थतन्त्रमा नदेखिएको उहाँको भनाइ छ ।
व्यापार घाटा नै नभएको भए अहिले तरलता अभाव नहुने भन्दै उनले पहिला लघुवित्तलाई आफैं सुध्रन निर्देशन दिनुभयो । उहाँले लघुवित्त सामाजिक व्यवसाय भएकोले सोही अनुरुपको कार्य गर्ने निर्देशन दिनुभयो ।
उहाँले लघुवित्तको नाफालाई इंगित गर्दै समस्या भयो मात्रै भनेर नहुने र त्यसलाई पुष्टि गर्ने आधार पनि हुनुपर्ने बताउनुभयो । अहिले लघुवित्तको ब्यालेन्स सिट र सेयरमूल्यले त्यसको संकेत नगरेको भन्दै पोलिसी निमार्ण गर्दा सबै विश्वस्त हुने आधार पनि चाहिने बताउनुभयो ।
अहिले तरलता अभावले व्यवसाय विस्तार गर्न नपाए लघुवित्तलाई कर्जाको गुणस्तर सुधार गर्न समेत उहाँले निर्देशन दिनुभयो । राष्ट्र बैकले अहिले पनि बैंकिङ प्रणालीमा साढे ३ खर्ब तरलता प्रवाह गरेको भन्दै यसमा निरन्तरता दिन नसकिने समेत उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्र बैंकले तरलता उपलब्ध गराउने नभई त्यसलाई व्यवस्थापन गर्ने मात्रै भूमिका रहेको उहाँको भनाइ छ । लघुवित्तकर्मीलाई अहिलेको प्रमुख समस्या कर्जा विस्तार हुन नसक्नु हो कि विदेशी विनिमय सञ्चिति घट्दै जानु हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
कार्यक्रममा विभिन्न लघुवित्त संस्थाका सञ्चालकले तरलता अभाव हुँदा ऋणीले नयाँ कर्जा नपाउने भयो भने ऋण नै नतिर्नेसम्मको समस्या आएको बताएका थिए । फर्वाड लघुवित्तका अध्यक्ष भगवती चौधरीले लघुवित्तले शोषको नभएको भन्दै लघुवित्तले समाज परिवर्तको लागि योगदान दिएको बताउनुभयो ।
लघुवित्त विज्ञ तथा काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डा. भरत सिंह थापाले लघुवित्तको ‘इको सिस्टम’ मा नै समस्या देखिएको बताउनुभयो । अहिले लघुवित्तविरुद्ध संगठित रुपमा चलेको आन्दालन चुनौती बनेको भन्दै यसमा सरोकारवाला र राष्ट्र बैंकले अवमूल्यन गर्न नहुने बताउनुभयो । उहाँले वाणिज्य बैंकले नै निक्षेपमा ११ प्रतिशत ब्याजदर दिदा लघुवित्तले बचतमा ६ प्रतिशत मात्रै ब्याज दिनु शोषण भएको बताउनुभयो । अर्का लघुवित्त विज्ञ नरहरी ढकालले लघुवित्त क्षेत्रमा कर्जा लगानी र ऋण असुलीमा उल्टो ‘ट्रेन्ड’ देखिएको बताउनुभयो ।




