Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोभिडको समयमा दिइएका सुविधा हट्छः गभर्नर

२०७९ असार २१ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको समयमा राष्ट्र बैंकले दिएको सुविधा क्रमशः हटाउँदै जाने बताउनुभएको छ । निजी क्षेत्रका व्यवसायीहरूले २०७७ सालमका ल्याएको जस्तो मौद्रिक नीतिको अपेक्षा गरेको बेला गभर्नर अधिकारीले सुविधा कटौती हुने घोषणा गर्नुभएको हो ।

नेपाल व्यवस्थापन संघ(म्यान)ले आयोजना गरेको मौद्रिक नीतिको छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकले कोभिडको समयमा दिएको सुविधाले अर्थतन्त्र ‘भी’आकारमा फर्केको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोभिडको समयमा व्यवसाय चलाउनको लागि हामीले ऋण संरचनादेखि लिएर पुनरकर्जाको सुविधा दिएका थियौं,क्रमशः सुविधाहरु हटाउँदै लैजाने हो ।’ उहाँले सुविधा कटौती अन्तर्गत नै चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत पुनरकर्जाको ब्याजदर बढाएको तथा आकार घटाउँदै लैजाने बताउनुभयो । गभर्नरले अनिवार्य नगद मौज्जात(सीआरआर) ३ प्रतिशतमा राखेको तथा काउन्टर साइकल बफरलाई समेत कोभिडको समयमा स्थगित गरिएको बताउनुभयो ।

अहिले बैंक तथा वित्तीय संस्थामा ५० खर्बभन्दा बढी निक्षेप रहेको तथा सो अनुसारको लगानी भएको भन्दै यसको प्रभाव अर्थतन्त्रमा देखिनुपर्ने उहाँको भनाइ छ । अर्थतन्त्रमा अहिले विदेशी मुद्राको सञ्चिति घट्दा समस्या भएको भन्दै आन्तरिक उत्पादन बढाउने नीति राष्ट्र बैंकले लिने उहाँको भनाइ छ । अर्थतन्त्र कोभिडपछि पुनरुत्थान हुँदै गर्दा रुस र युक्रेन युद्धले मूल्यमा समस्या पारेको तथा अमेरिकामा भएको मूल्यवृद्धिको असर समेत नेपालमा परेको उहाँले बताउनुभयो ।