
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा.प्रकाशकुमार श्रेष्ठले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप संकट निम्तिने बताउनुभएको छ । काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित ‘संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९/८०को बजेट’ विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै डा.श्रेष्ठले नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको बताउनुभयो ।
श्रेष्ठले उत्पादनभन्दा पनि उपभोगतर्फ जाँदा मुलुकको भुक्तानी सन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको अवस्था बढेको बताउनुभयो । यस्तो अवस्थालाई सुधार गरेर अहिलेको अर्थतन्त्रको चुनौतीलाई सरकार, जनता सबै मिलेर समाधान गर्नु पर्ने उहाँको भनाइ छ।
डा.श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको बताउनुभयो । उहाँले पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले आगामी महिनामा ९० अर्बभन्दा बढी रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको रहेको बताउनुभयो।
नेपालबाट विद्युत निर्यात हुन थालेको तथा नेपाली सिमेण्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दवाव कम हुन सक्ने आंकलन गरिएको उहाँको भनाइ छ। अर्थतन्त्र दबाबमा रहे पनि तत्काल आत्तिइहाल्नु पर्ने अवस्था नरहेको श्रेष्ठले भनाइ छ ।



