२०७३ आश्विन ७ गते

साताभरमा ४९.२८ अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

economicसाताको अन्तिम दिन सेयर बजार १२.२२ अंकले घटेर नेप्से परिसूचक १७६६.९१ अंकमा कायम भएको छ । यो साता भरि नै सेयर बजार राताम्मे रह्यो । साताको सुरुको दिन १०.६९ अंकले घटेको सेयर बजार मंगलबार १७.९८ अंकले घट्यो भने बुधबार ७.३७ अंकले घट्यो । सोमबार सार्वजनिक विदा परेकाले नेप्से कारोबार भएन । गत सातापनि सेयर बजार गिरावटकै क्रममा थियो । गत साताको अन्तिम दिन नेपसे परिसूचक १८१५.१९ अंकमा थियो । यसआधारमा हेर्दा, यो साताभरमा सेयर बजार ४९.२८ अंकले घटेको देखिन्छ । 

यो साता कारोबार रकममा पनि गिरावट आएको छ । साताको आइतबार नागरिक लगानी कोषको मात्रै सवा अर्बको कारोबार हुँदा समग्रमा झन्डै साढे दुई अर्बको कारोबार भएको थियो । मंगलबार एक अर्ब ३५ करोडको कारोबार भएको बजारमा बुधबार ९४ करोड र विहीबार ९० करोडको कारोबार भयो । समग्रमा साताभरमा पाँच अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । यो साता लगानीकर्ताको आकर्षण बैंकिङ समूहमा नै रह्यो । नेपाल लाइफ इन्स्योरेन्स, सनराइज बैंक, नविल बैंक, एनबी बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक लगायतको राम्रो कारोबार भयो ।

विगत केही समयदेखि नै सेयर बजार निरन्तर गिरावटको क्रममा छ । चालू आर्थिक वर्षको सुरुदेखि हालसम्म सेयर बजार ४८.७१ अंकले मात्रै बढेको छ । अहिले सेयर बजार घटेको भन्दा पनि बजारले विश्राम लिएको र केही समयपछि पुनः बढ्ने विश्लेषकहरु बताउँदै आएका छन् । यसै आशमा लगानीकर्ता रहँदा बजार घटेपनि कारोबार घटेको थिएन । यद्यपि, यो साताको अन्तिममा आएर भने कारोबार रकमबा पनि उल्लेख्य गिरावट आएको छ । यनले लगानीकर्ताको मनोबल पनि कमजोर हुँदै गएको देखिन्छ ।

यता, पुँजी बजारको सुदृढिकरणका लागि भन्दै नेपाल धितोपत्र बोर्डले विभिन्न निर्देशनहरु समयसमयमा जारी गरिरहेको छ । यसको प्रभाव पनि सेयर बजारमा देखिन सकेको छैन । राष्ट्र बैंकको निर्देशनअनुसार पुँजी बढाउन भन्दै बोनस र हकप्रद सेयर जारी गरिरहेका कम्पनीहरुको समेत यस पटकको कारोबार खासै उल्लेख्य रुपमा भएको छैन ।