२०७९ जेष्ठ २५ गते

के हो वैदेशिक रोजगार बचतपत्र ?

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो वैदेशिक रोजगार बचतपत्र । वैदेशिक रोजगारीमा रहेका युवाहरुबाट यस बचतपत्रअन्तर्गत आन्तरिक ऋण उठाइन्छ । मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ६ महिना नपुगेको व्यक्तिले यो बचतपत्र किन्न पाउँछन् । विदेशमा हुनेले बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न पाउँछन् ।

फाइदाहरु

यस्तो बचतपत्रमा निश्चित वर्षका लागि लगानी गरिन्छ । उक्त अवधि सकिएपछि सावाँसहित फिर्ता पाइन्छ । व्याज वाणिज्य बैंकहरुमा प्रचलितभन्दा बढी पाइन्छ । अहिले जारी गरिएको वैदेशिक रोजगार बचतपत्रमा १२.५ प्रतिशत व्याज दिइएको छ ।

व्याजका लागि भने पूरै समय कुर्नुपर्दैन । बचतपत्रको अवधि नसकिँदासम्म ६/६ महिनामा व्याज भुक्तानी पाइन्छ । आवश्यक परे बचतपत्रलाई धितो बन्धक राखेर कुनै पनि वित्तीय संस्थावाट रकम झिक्न पनि सकिन्छ भने विक्री गर्न पनि सकिन्छ ।

यस्तो बचतपत्रमा लगानी गर्नु भनेको देशको विकासमा योगदान पुर्याउनु हो । किनकि, यसरी उठाएको रकम राष्ट्र बैंकमार्फत सरकारले विकास निर्माणका काममा प्रयोग गर्छ ।