
बैंकिङ खबर/ सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो बढेसँगै सरकार यस निर्णयबाट पछि हटेको छ । बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ ।
सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाउनु भएकाे थियाे ।
उक्त बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए । यस निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नगर्न कर्मचारीलाई सट्टा बिदा दिने तयारी भएको पनि बताइएको छ ।
आइतबार पनि शाखा नखुल्दा समस्या
सातामा दुई दिन बैंकहरु बन्द हुँदा सर्वसाधारणलाई समस्या हुने गरेको छ । विशेषगरी डिजिटल बैंकिङ तर्फ चासो नदिने व्यक्तिहरुलाई बढी समस्या हुने गरेको छ । उनीहरुमा बैंकमै गएर सेवा लिने बानी हटि सकेको छैन । अर्कोतर्फ प्रविधितर्फको ज्ञानको कमिका कारण पनि उनीहरु समस्यामा पर्ने गरेका छन् ।
राष्ट्र बैंकको व्यवस्था

सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई निर्देशन जारी गरेको थियो । उक्त निर्देशनमा दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने राष्ट्र बैंककाे निर्देशनमा उल्लेख छ। ती सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउन पनि निर्देशन दिइएको छ ।
जेठबाट कार्यालय समय बिहान ९ः३० बजेबाट अपराह्न ५ः३० बजेसम्म कायम गरिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय सयम बिहान ९ः३० बजेबाट ४ः३० बजेसम्म कायम गरिएको छ ।
यसैगरी जेठबाट बैंकिङ कारोबार समय बिहान ९ः३० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ कारोबार समय बिहान ९ः३० बजेबाट अपराह्न ३ः३० बजेसम्म तोकिएको छ । सार्वजनिक बिदाबाहेक २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।
यसअघि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।
त्यस्तै सार्वजनिक बिदाबाहेक वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म आइतबारदेखि बिहीबारसम्म बैंकिङ बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुला रहने भनिएको थियो ।
यसैगरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो मध्याह्न १२ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।
अब शुक्रबारका लागि पनि बैंकको कार्यालय पोसाक कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै विभाग, कार्यालय, महाशाखा र इकाइले प्रत्यक्ष सेवाग्राहीले एकैदिनमा सम्पन्न हुने एकै सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चतता गरी कार्य व्यवस्थापन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
हप्ताको दुई दिन बिदा हुँदा हप्ताभरि सम्पन्न गरिएका कार्यहरुको सूची तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्यांकनका लागि अभिलेख राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
अधिकांश बैंकहरुकाे आइतबार पनि सेवा
यता नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै दुई दिन सार्वजनिक विदाको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपनि अधिकांश बैंकहरूले आइतबार पनि बैंकिङ सेवा दिने बताएका छन् । एक दर्जन वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई बैंकिङ सेवा दिएका छन् । बैंकहरूले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखाहरु खुल्ने सूचना जारी गर्दै आइतबार पनि बैंक बन्द नहुने उल्लेख गर्दै सेवा दिएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया बैंक, हिमालयन बैंक, नबिल बैंक, सिभिल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय सहकारी बैंकले आइतबार पनि सेवा दिँदै आएका छन् । यी बैंकहरूले उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखाहरू र शाखा खुल्ने समय सीमा पनि निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेल बैंकहरुले आइतबार पनि आफ्ना सेवाग्राहीलाई सेवा दिनु राम्रो पक्ष भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यदि लगातार दुई दिन भन्दा बढी सार्वजनिक विदा पर्न गएमा बैंकिङ अप्रेशन सुचारु गर्नुपर्नेछ । यसको मतलब थोरै कर्मचारि राखेर पनि सेवा दिनुपर्छ भन्ने हो । उदाहरणका लागि पाँच दिन लगातार विदा भयो । दुई दिन सटडाउन गर्न ठिक छ । तेस्रो दिनमा सेवा सुचारु गर्नुपर्छ भन्ने राष्ट्र बैंकको निर्देशन हो । तर दुई दिन पनि किन बन्द गर्ने सर्भिस दिन्छु भन्छन् भने त्यो राम्रो हो । बैंकिङ सेवा कुनै पनि मोमेन्टमा चाहिन्छ ।’
सरकार दुई दिन सार्वजनिक विदा दिने विषयमा हटेपछि बैंकहरुको विदा के हुन्छ भन्नेमा उहाँ भन्नुहुन्छ, ‘सरकारले होइन यो राम्रो र प्रभावकारी भएन भन्यो भने हामी पनि व्याक टु पुरानै मोडलमा जान्छौं ।’




