
बैंकिङ खबर/ सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको भैरवाहस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।
यो विमानस्थलमा यात्रु र सेवाग्राहीलाई चाहिने सम्पूर्ण सेवासुविधा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्नेछ। यसका लागि बैंकले आजबाट ५ वटा काउन्टर पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ।
राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखाका प्रबन्धक हरिराम पराजुलीका अनुसार विमानस्थलभित्र डिपाचर, बोर्डिङ वेटिङ, एराइभल, कस्टम र कार्गो काउन्टर सञ्चालनमा ल्याइएको छ।
यसैगरी एराइभल काउन्टरमा विदेशी यात्रुले भिसा शुल्क तिर्न सक्नेछन्। यसका लागि यो काउन्टरमा एटीएम र पीओएसको सुविधा पनि रहेको छ। ‘विदेशी यात्रुले अनलाइन पेमेन्ट गर्न सक्छन्’, उहाँले भन्नुभयो, ‘यसका साथै यो काउन्टरबाट विदेशी मुद्राको सटहीको व्यवस्था पनि गरिएको छ।’
यसैगरी विमानस्थलभित्र बैंकले कस्टम काउन्टर पनि सञ्चालनमा ल्याएको छ। यो काउन्टरमार्फत यात्रुले विदेशबाट ल्याएका सामानहरुको भन्सार विमानले तोकेबमोजिमको भन्सार शुल्क तिर्न सक्नेछन्। उता कार्गो काउन्टरमार्फत पनि भन्सार महसुल संकलन गरिने बैंकले जनाएको छ।