Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

नेपाल लाइफ इन्स्योरेन्सः लगानी १३३ अर्ब नाघ्यो

२०७९ बैशाख ३१ गते

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्सको लगानी १३३ अर्ब नाघेको छ । २१ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर ०.७३६८ रुपैयाँ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ पुगेको छ ।
सभाबाट आ.व.२०७६-०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह

विवरणहरु एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ ।
सभाले संस्थापक सञ्चालकहरु गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान सञ्चालकमा चयन गरेको छ । साधारण सभा सम्पन्न पश्चात् बसेको सञ्चालक समितिको ३३६ औं बैठकले नव निर्वाचित संचालक गोविन्द लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत छनौट गरेको छ ।

साधारण सभामा अध्यक्ष गोविन्द लाल संघईले समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष संघईले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताउनुभयो ।

त्यसैगरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यकासाथ कम्पनी अगाडि बढेको जानकारी गराउनुभयो ।

हाल यस कम्पनीको लगानी १ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब २४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर २ सय २ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।