
बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ ।
यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
वालेट कारोबारमा कडाई, थपिए नयाँ ३ व्यवस्था

नेपाल राष्ट्र बैंकले यसैसाता वालेट कारोबारमा कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन तथा थप गर्दै कडाई गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्नेछ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने भएको छ ।
सामान्यतया क्रेडिट कार्डवाट नगद कारोवार गर्न पाइने छैन । तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० (दश) प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन भन्ने राष्ट्र बैंकको व्यवस्था छ ।
त्यस्तै विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा ‘पेशगरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला-बुझाउँला’ भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्नु पर्ने भएको छ ।
विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
मार्जिन कारोबार सुविधा कार्यान्वयनमा

मार्जिन कारोबार सुविधा कार्यान्वयनमा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन)–२०७७ धितोपत्र बोर्डको निर्देशन पश्चात लागू भएको छ । दुई वर्षअघि नै उक्त कार्यविधि लागू भइसकेको थियो । तर लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीहरुले यो व्यवहारिक भएन भन्दै पुनः संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो ।
मार्जिन कारोबार सुविधा अन्तर्गत कुनै लगानीकर्ताले तत्काल सेयर कारोबारका गर्न ब्रोकरकहाँ सेयर धितो राखेर कर्जा लिन सक्छन् । यो सुविधा अन्तर्गत बैंकको भन्दा केही महंगो ब्याजदर तोकिएको हुन्छ । यो अल्पकालीन कारोबारका लागि सहज भए पनि दीर्घकालीन कारोबारका लागि भने महंगो हुन जान्छ । कार्यविधिमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचिकृत संगठित संस्थाको सेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनुपर्नेछ ।
यस्तै मार्जिन कारोबार सुविधाको लागि सम्भार मार्जिक ९मेन्टिनेन्स मार्जिन० २० प्रतिशत हुने छ । मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ । मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले मार्जिन कारोबार योग्य धितोपत्रहरु जम्मा गरी वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्नुपर्नेछ ।
१९ अर्ब १० करोडकाे ट्रेजरी बिल जारी

नेपाल राष्ट्र बैंकले यसैसाता १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गरेकाे छ। केन्द्रीय बैंकले वैशाख २० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गरेकाे हो।
राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेकाे छ। यो ट्रेजरी बिल आउँदो जेठ १७ गते परिपक्व हुनेछ। त्यस्तै केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो साउन १७ गते परिपक्व हुनेछ। यसैगरी बैंकले १८२ का लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गरेकाे छ। यो ट्रेजरी बिल भने आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ।
मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन

नेपाल राष्ट्र बैंकले मनिचेन्जर कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न कम्पनीहरुका लागि चुक्तापँुजीको सीमा तोकेको छ । राष्ट्र बैंकले मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ संशोधन गर्दै चुक्तापुँजीको सीमा तोकेको हो ।
संशोधन अनुसार भारतीय रुपैयाँको खरिदबिक्री कारोबारका लागि १९ लाख रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ । परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि भने १५ लाख रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था गरिएको छ । यी दुवै कारोबारका लागि २० लाख चुक्तापुँजी हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
यसैगरी मनिचेन्जरको इजाजतपत्र प्राप्त गर्न कम्पनीहरुले राष्ट्र बैंकमा धरौटी राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । जसअनुसार भारतीय रुपैयाँको खरिदबिक्री कारोबारका लागि ५० हजार रुपैयाँ, परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि ७५ हजार रुपैयाँ र दुवै कारोबारका लागि १ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ ।
यस्तै भारतीय रुपैयाँ खरिदबिक्री कारोबारका लागि २५ हजार रुपैयाँ, परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि १ लाख रुपैयाँ र दुवै कारोबारका लागि १ लाख पच्चिस हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ ।
विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापतको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्थो गरेको छ ।
हिमालयन बैंकको लाभांश नरोक्न उच्च अदालत पाटनको निर्देशन

उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । उक्त रोक हटाइ तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन उच्च अदालतले निर्देशन दिएको हो ।
राष्ट्र बैंकले लाभांश रोक्न निर्देशनकोविरुद्ध हिमालयन बैंक उच्च अदालत पाटनमा गएको थियो । अदालतले परमादेश जारी गर्दै लाभांश वितरण नरोक्न निर्देशन दिएको हो ।
‘हिमालयन बैंकबाट शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७÷७८ को नगद लाभांश गर्न सक्ने अवस्था देखिँदा यस सम्बन्धमा जे जे गर्नुपर्ने हो गरी नगद लाभांश वितरण गर्न निवेदक हिमालयन बैंकलाई आवश्यक निर्देशन दिनु,’ अदालतले राष्ट्र बैंकको नाममा जारी गरेको परमादेशमा भनिएको छ ।
हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१.३८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
उम्मेद्वारलाई बैंक खातामार्फत मात्र चुनाव खर्च गर्न आयोगको निर्देशन

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बैंक खातामार्फत मात्र चुनाव खर्च गर्न उम्मेद्वारहरुलाई निर्देशन गरेको छ । ‘निर्वाचन आचारसंहिता २०७८’ ले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत गर्ने व्यवस्था रहेपनि सोअनुसार नगरिएको देखिएको भन्दै निर्वाचन आयोगले आचारसंहिता तथा ऐनको व्यवस्थाअनुसार गर्न गराउन निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘उल्लिखित व्यवस्था विपरीत हुनेगरी कतिपय स्थानमा कार्य भैरहेको भन्ने जानकारी प्राप्त हुन आएकाले निर्वाचनमा खर्च गर्दा निर्वाचन आयोग ऐन, २०७३,निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्था बमोजिम गर्न राजनीतिक दल तथा उम्मेदवारको ध्यानाकर्षण गराउँदै सो बमोजिम गर्न गराउन सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको छ ।’
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुने भएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन् ।
बिहीबार दुई संस्थाका अध्यक्षले मर्जरमा जाने विषयमा सम्झौता गरेका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ । एभरेष्ट इन्स्यारेन्सको १ अर्ब २५ करोड छ ।
हिमालयन र एभरेष्ट १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका हुन् । स्वापको अनुपातको टुंगो भने सम्पत्ति तथा दायित्वको मुल्यांकन(डिडिए)पछि टुंगो लाग्ने छ । मर्जरपछि २ अर्ब ४२ करोड चुक्ता पुँजी हुन्छ ।
इसेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इ सेवा प्रा.लि.को अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त हुनुभएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिनु भएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो ।
बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव सम्हाल्नु भएका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज (हालस्टाण्डर्ड चाटर्ड ) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले नेपाल बैंकर सिटिजन्स् बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरि सक्नु भएको छ ।
मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त हुनुभएको छ । पोखरेलको पहिलो कार्यकाल सकिएसँगै पुनः सोही बैंकको सीईओमा नियुक्त हुनुभएको हो । बैंकको सञ्चालक समिति बैठकले उहाँलाई सीईओमा नियुक्त गरेको हो ।
बैंकिङ्ग क्षेत्रमा तीन दशक लामो अनुभव संगाल्नुभएका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गर्नुभएको थियो । उहाँ २०७६ जेठ १ गते बैंकको सीईओमा नियुक्त हुनुभएको थियो । सीईओमा पुनः दोहिरिएसँगै पोखरेलले मुक्तिनाथ विकासको विकासका लागि फरक योजना र रणनीतिका साथ अगाडि बढ्ने बताउनुभयो ।
रिभर फल्स पावरको आयोजना प्रभावितलाई जारी आइपीओ बाँडफाँट

रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीयहरुका लागि खुलाएको आइपीओ बाँडफाँट गरेको छ । संखुवासभाका स्थानीयबासीका लागि निष्कासन गरिएको आइपीओमा ७ हजार ६ सय ३ वटाले १३ लाख ८१ हजार ९ सय कित्ताका लागि जम्मा आवेदन दिएका थिए । तर निवेदन पूरा नभएको १८ वटा आवेदनका ४ सय ४० कित्ता सेयरलाई रद्द गरेपछि बाँकी रहेको ७ हजार ५ सय ८५ जना आवेदकहरुबाट प्राप्त १३ लाख ८१ हजार ४ सय ६० कित्ता बाँडफाँट गरिएको थियो ।
जसमा १० कित्ता माग गर्ने २२७ जना, २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६ सय ९४ जनालाई बाँडफाँट गरिएको छ । साथै, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ जनालाई आइपीओ बाँडफाँट गरिएको छ ।
त्यसैगरी, १०० कित्ता माग गर्ने २४९२ जना, ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना, १३० कित्ता माग गर्ने १२ जना माग बमोजिम १३० कित्ता तथा १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३ सय ३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँट गरिएको छ ।