Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इसेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

२०७९ बैशाख २१ गते

बैंकिङ खबर/नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इ सेवा प्रा.लि.को अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त हुनुभएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिनु भएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो ।

बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव सम्हाल्नु भएका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज (हालस्टाण्डर्ड चाटर्ड ) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले नेपाल बैंकर सिटिजन्स् बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरि सक्नु भएको छ ।

सन् २०२० को जुलाईमा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिनुभएका उहाँले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी तालिम प्रदान गर्दै आउनु भएको छ ।  इसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त अध्यक्ष कुवँरले भन्नुभयो ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा आफुलाई निकै खुशी लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले इसेवाको कर्पोरेट गभर्नेन्स्, रणनीतिक मुल्य र कम्प्लायन्स्को क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्नेछु ।’ स्थापना कालदेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइ पुर्याउन सफल हुनुभएका र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण योगदान दिनुभएका अस्गर अलीलाई कम्पनीले विशेष धन्यवाद दिएको छ । उहाँ पछिल्लो समय इसेवाको बोर्ड अध्यक्षका रूपमा रहनुभएको थियो । बोर्ड अध्यक्षबाट उहाँले दिनुभएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

Ad