Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थमन्त्री प्रमुख अतिथि भएको मञ्चमा गभर्नर अनुपस्थित !

२०७९ बैशाख २० गते

बैंकिङ खबर/ देशको अर्थतन्त्र उकास्न अर्थमन्त्रालय र राष्ट्र बैंकबीच तादाम्यता हुन आवश्यक हुन्छ । राष्ट्र बैंक कानूनतः स्वायत्त भएपनि अर्थमन्त्रालयसँग समन्वय गरी काम गर्ने संस्थाका रुपमा लिन सकिन्छ ।

समग्र मुद्रा व्यवस्थापन र बैंकिङ क्षेत्रको विषयमा अर्थ मन्त्रालयलाई विशेष सल्लाह दिने संस्थाको रूपमा राष्ट्र बैंकलाई लिने गरिन्छ ।
तर, यही संस्थाका प्रमुख गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जर्नादन शर्माबीचको तिक्तताले ठूलो रुप लिएको छ ।
एकअर्काले ल्याएको नीति असफल बनाउने र आपसमा प्रहार गर्ने खेलमा लामो समयसम्म शर्मा र अधिकारी व्यस्त हुँदा त्यसले अर्थतन्त्रलाई धरापमा पारेको अवस्था छ ।

अर्थमन्त्री प्रमुख अतिथि भएको मञ्चमा गभर्नर अनुपस्थित

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा अर्थमन्त्रीलाई निमन्त्रण गरिएको थियो भने विशेष अतिथिको रुपमा गभर्नर महाप्रसाद अधिकारीलाई । तर गभर्नर अधिकारीले कार्यक्रममा सहभागि हुनुभएन् । यसअघि गएको बुधबारको एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी एउटै कार्यक्रममा सँगसँगै देखिनुभएको थियो । तर कार्यक्रममा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच बोलचाल भने भएन ।

अर्थमन्त्रालयको कार्यकक्षमा अर्थमन्त्री शर्माको अध्यक्षतामा भएको सम्पत्ति शुद्धिकरण निवारण अन्तर्गत राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकमा गभर्नर अधिकारी डेढ घण्टा बताउनुभयो । डेढ घण्टाको अवधिमा शर्मा र अधिकारीबीच हेराहेर समेत भएन । अधिकारीलाई बुधबारको कार्यक्रममा औपचारिक निम्तो दिइएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सहसचिवले प्रिजेन्टेसन गर्ने र अर्थमन्त्री शर्माले बोल्ने मात्रै सेड्युल थियो । यस्तै मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले गरेको एक कार्यक्रममा गभर्नर अधिकार सहभागि हुनुभएन ।
सो क्रममा अर्थमन्त्री शर्माले अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली हुनुभएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति कटाक्ष गर्नुभएको छ ।
उहाँले ‘नियामकीय संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महसुस आफूले गरेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषद्को गएको चैत २४ गतेको बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ समिति गठन गरेको थियो ।
समिति गठनसँगै स्वतः निलम्बनमा परेका अधिकारी वैशाख ६ गते सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि पदमा पुनर्बहाली हुनुभएको छ ।

वैशाख ६ गते गभर्नरमाथि छानबिन नगर्न र गभर्नरलाई काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्चले १६ गते उक्त आदेशलाई निरन्तरता दिँदै अन्तिम फैसला नआउँदासम्म गभर्नरमाथि छानबिन नगर्न आदेश दियो ।

चैत अन्तिम साता निलम्बन भएर वैशाख ६ गतेपछि काममा फर्किएयता गभर्नर र अर्थमन्त्री एउटै फोरममा सँगै देखिएका छैनन् । आजको सम्मेलनमा आईक्यानले अर्थमन्त्री शर्मालाई प्रमुख अतिथि र गभर्नर अधिकारीलाई विशेष अतिथिका रूपमा निमन्त्रणा गरेको थियो । सम्मेलनको उद्घाटन अर्थमन्त्री शर्माले गर्नुभयो । कार्यक्रममा गभर्नर अधिकारी अनुपस्थित हुनुभयो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले गभर्नरप्रति लक्षित गर्दै जानकारहरूले गलत हिसाब गर्दा त्यसको असर के होला भन्दै कटाक्ष गर्नुभयो । ‘वित्तीय सुशासन र त्यसभित्रको पहलकदमी लिनका लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरूको सही पहल र वित्तीय सुशासन भएन भने त्यसले धेरै ठूलो प्रभाव पार्छ,’ उहाँले भन्नुभयो, ‘गलत हिसाब गरियो भने त्यसको प्रभाव के होला ? यस्तो कार्य जानकारहरूले नै गर्ने हो, यो टुल्स यहाँ प्रयोग गर्दा मलाई फाइदा हुन्छ भन्ने सोच्यो, व्यक्तिगत स्वार्थ राख्यो भने त्यसले राष्ट्रिय रूपमा ठूलो समस्या ल्याउने रहेछ । त्यसले राष्ट्र, अर्थतन्त्र र समग्र प्रणालीलाई नै असर पार्छ । त्यसले पार्ने प्रभावको आकलन गरौँ, त्यो धेरै भयावह हुन्छ ।’

उहाँले इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको समेत बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री शर्माले समग्र देशको नै अडिट गनुपर्ने अवस्था रहेको बताउनुभयो ।

यसअघि नेपाल राष्ट्र बैंकको वार्षिकउत्सवमा अर्थमन्त्री जनार्दन शर्मालाई खबर नै नगरिएको बताइएको छ । राष्ट्र बैंकले बुधबार ६७ औं वार्षिकउत्सव मनाएको थियो ।

वार्षिकउत्सव कार्यक्रममा अर्थमन्त्री शर्मालाई भने निमन्त्रणा नै नदिएको अर्थमन्त्रालयका एक उच्च कर्मचारीले बताउनुभयो । अर्थमन्त्री शर्माको सिफारिसमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरिएपछि गभर्नर र अर्थमन्त्रीबीच बोलचाल नै बन्द छ । अर्थमन्त्रीले शर्माले गभर्नरको कार्यक्षमतामाथि प्रश्न चिन्ह उठाउँदै निलम्बित गरिएको थियो ।

 

 

Ad