
बैंकिङ खबर/ नेपाल वेयरहाउजिड्ग कम्पनी र नेपाल इन्फ्रास्टक्चर बैंक बिच शेयर लगानी सम्बन्धि सम्झौता भएको छ। वेयरहाउजिड्ग कम्पनीले बैज्ञानिक खाद्यान्न भण्डारण गृह, वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थामार्फत ऋण प्रवाह हुने वातावरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उदेश्य लिएको छ।
निफ्राले पूर्वाधार विकासमा स्वपुँजी तथा ऋण लगानी गर्ने उदेश्य लिएको छ। कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।
यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत एक अर्ब ३९ करोड रुपैयाँ रहेको छ। यो लगानी मध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपुँजीबाट परिचालन गरिनेछ। यस कम्पनीको हालको पुँजी २३ करोड ३७ लाख रुपैयाँ रहेकोमा शेयरधनीहरुबाट समेत गरि जम्मा ५५ करोड रुपैयाँ जुटाईने छ।
आज भएको सम्झौता बमोजिम, कूल जारि चुक्ता पुँजी ५५ करोडमध्ये नेपाल इन्फ्रास्टक्चर बैंकले ५ करोड बराबरको स्वपुँजी लगानी गर्ने छ। अन्य लगानीकर्ताहरुबाट बाँकी हुन आउने ५० करोड रुपैयाँ जम्मा भएपछि आगामी आर्थिक वर्ष २०७९८० मा सार्वजिनक निस्काशनबाट कूल पुँजी २० प्रतिशतमा हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निस्काशनबाट लगानी जुटाईने छ।
खाद्यान्न भण्डारण गृह निर्माण गरी त्यो भण्डारण गृहमा कृषकले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसँग रहिरहेको छ।
अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ। यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनीले देशका तीन वटा महत्वपुर्ण स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गर्ने छ।
यसबाट कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पद्धतिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ।