Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

भारतसँग चुलिँदो ब्यापार घाटा, प्रमको भ्रमणमा प्राथमिकतामा परेन !

२०७८ चैत्र २१ गते

बैंकिङ खबर/ बाह्र वर्षअघि (२०६२-०६३) भारतसँगको व्यापार घाटा ६६ अर्ब थियो । भारतबाट एक खर्ब सात अर्बको सामान भित्रिँदा नेपालबाट ४० अर्बको सामान निर्यात भएको थियो । तर पछिल्लो समय नेपाल र भारतबीच व्यापारीक खाडल गहिरिँदै गएको छ ।

चालु आवको सात महिनाको तथ्यांकलाई हेर्ने हो भने नेपालको व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड रुपैयाँ बराबर पुगेको छ । सात महिनामा कूल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ । निर्यात आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकलाई हेर्दा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरेर एक खर्ब २८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात एक खर्ब चार अर्ब १३ करोड रुपैयाँ बराबर थियो ।

सात महिनाको कूल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ४७ अर्ब ४६ करोड बराबर पुगेको छ । अघिल्लो वर्ष त्यस्तो आयात नगन्य रुपमा मात्रै बढेको थियो ।

विवरण अनुसार भारतबाट ३१ प्रतिशत, चीनबाट ४२.३ प्रतिशत र अन्य देशबाट ८३.८ प्रतिशतले आयात बढेको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्रै भारतबाट ११ अर्ब ४४ करोडको तरकारी आयात भएको छ ।

प्रमको भ्रमणमा परेन प्राथमिकता

भारतसँगको चुलिँदो ब्यापार घाटाकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिने भारत भ्रमण गर्नुभयो । तर भ्रमणका क्रममा भने व्यापारमा सहजीकरण र कृषिजन्य बस्तु आयात रोक्ने सन्दर्भमा कुनै पहल नै हुन सकेन । भ्रमणका क्रममा निर्माण सम्पन्न भएका आयोजना संयुक्त रुपमा उद्घाटन गर्नेबाहेक देउवाको भ्रमणमा आर्थिक क्षेत्रमा उपलब्धि हुने कुनै पनि महत्वपूर्ण सम्झौता हुन सकेनन् ।

प्रधानमन्त्री देउवाले यो भ्रमणमा भारतबाट शून्य भन्सारमा आउने बस्तुमा कर लगाउने सहमति गर्ने अपेक्षा राखिएको थियो । तर प्रधानमन्त्री त्यसमा चुकेको देखिन्छ । नेपालमा आयातित वस्तुको मूल्य भारतीय नाकामा हुने अवरोधका कारण बढिरहेको छ । निर्यातमा समेत विभिन्न बाधाहरु यथावत नै रहेको छ । जसमा सहमति गर्न प्रधानमन्त्री असफल भएको देखिन्छ । वाणिज्य सन्धिको पुनरावलोकन गर्ने र व्यापार घाटा कम गर्ने विषयमा कुनै उल्लेख नहुनुले आर्थिक क्षेत्रमा कुराकानी नै नभएको प्रष्ट भएको छ ।

वर्षातमा नेपालमा पाँच सय मेगावाट बिजुली खेर जाने स्थिति छ । उर्जाका विषयमा दुई देशबीच सहकार्य गर्ने ’भिजन स्टेटमेन्ट’ तयार पार्ने भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको बिजुली खरिद गर्ने भनेर बोलेका त छन् । तर, भारत निर्यात गर्न सहजै अनुमति दिन्छन् भन्नेमा आशंका कायमै छ । प्रचारप्रसारका साथ सोलु करिडोरको उद्घाटन गरियो । जुन भारतीय अनुदानमा नभई त्यहाँको एक्जीम बैंकको सहुलियतपूर्ण ऋणमा बनेको आयोजना हो । पञ्चेश्वरमा तिब्रता दिने भनेर प्रचार गरिएको छ । जुन २६ वर्षअघि भएको महाकाली सन्धिमा ६ महिनामै टुङ्ग्याउने भनिएको थियो ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार, एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।

यी सम्झौता प्राविधिक आदानप्रदान गर्ने विषयमा भएका सम्झौता हुन् । भारत र नेपालबीच आर्थिक बिषयमा कैंयन सहमति हुनु आवश्यक थियो । तर त्यो हुन सकेन् ।

‘भ्रमण फलदायी भयो’

यता परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री देउवाको भारत भ्रमण फलदायी भएको बताएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नयाँदिल्लीको हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल–भारत सम्बन्धका बहुआयामिक क्षेत्रहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा. खड्काले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री डा खड्काले भन्नुभयो, ‘दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी छलफल तथा विचारहरूको आदानप्रदान भयो ।’

भ्रमणमा उच्च तहमा भ्रमणको आदानप्रदान गर्ने, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने, ऊर्जा क्षेत्रमा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता दिने, सीमापार कनेक्टीभिटी बढाउन रेलवे सेवा सञ्चालन कार्य अगाडि बढाउने, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपोजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने, द्विपक्षीय व्यापार विस्तार गर्ने साथै रासायनिक मल उपलब्ध गराउनेलगायत विषयमा छलफल भएको थियो ।

नेपालको विकासमा भारतको सदा साथ र सहयोग रहेको र प्रधानमन्त्री मोदीले दुई देशबीच विकास एवं आर्थिक सहकार्यसम्बन्धी नेपालका प्रस्तावहरूलाई भारतले सकारात्मक रूपमा अगाडि बढाउने बताउनुभएको परराष्ट्रमन्त्री खड्काले जानकारी दिनुभयो ।

रेलवे क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने सम्झौता, अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको फ्रेमवर्क सम्झौता, एनओसी र आइओसीबीच पाँच वर्षका लागि इन्धन आपूर्ति गर्ने सम्झौता, एनओसी र आइओसीबीच प्राविधिक विशेषज्ञता साझेदारीको लागि सम्झौतामा हस्ताक्षर भएको उहाँले बताउनुभयो ।
साथै जलविद्युत् क्षेत्रमा नेपाल–भारतबीच दीर्घकालिन सहकार्यलाई मजबूत गर्ने उद्देश्यका साथ ऊर्जा क्षेत्र सहयोगसम्बन्धी नेपाल–भारत संयुक्त भिजन वक्तव्यमा सहमति भएको छ । नेपाल र भारतबीच जलविद्युत् उत्पादन, प्रशारण लाइन निर्माण र जलविद्युत् व्यापार बढाउने विषयमा पनि कुराकानी भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले आर्थिक तथा प्राविधिक क्षेत्रमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले नेपालको पूर्वाधार तथा मानवस्रोत विकासमा भारतले गरेको सहयोगको सरहाना गर्नुभएको थियो । यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै नेपालको भारतसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेकोसमेत बताउनुभएको थियो ।

त्यसैगरी वित्तीय क्षेत्रमा एलओसी आईभीअन्तर्गत ५०० मिलियन अमेरिकी डलर उपयोगका लागि सिग्नेचर परियोजना प्रस्ताव गर्न भारतीय पक्षबाट अनुरोध भएको छ । दुई प्रधानमन्त्रीबीच स्वास्थ्य क्षेत्रमा सहयोगका लागि तनहुँमा स्थापित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास रोग केन्द्रलाई जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा खड्काले जानकारी दिनुभयो ।

Ad