
बैंकिङ खबर/ तरकारी पसलदेखि इ–रेक्सासम्म छाएको क्युआरकोड अब डुंगा व्यवसायीसम्म पुगेको छ । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै कास्कीको बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धि बहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताएका छन् । बैंकका सीइओ पोखरेलले भने, ‘हाम्रा ग्राहकहरुलाई क्यूआर कोडको प्रयोग गरी विद्युतीय प्रणाली मार्फत नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएका छौं । यसरी नै विभिन्न व्यापार व्यवसायहरुमा क्यूआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जानेछौं ।’