Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आवेदन दिएका व्यक्तिलाई पन्छाएर ठाडो आदेशबाटै राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त !

२०७८ चैत्र १८ गते

बैंकिङ खबर/ आवेदन दिएका व्यक्तिलाई नै पन्छाएर ठाडो आदेशबाटै बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ । कम्पनीको सीईओमा अर्थ मन्त्रालयका उप–सचिव ज्ञानेन्द्र ओझालाई नियुक्त गरिएको हो । अर्थ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै ओझालाई सीईओ बनाउने निर्णय गरेको हो ।

कम्पनीका सीइओ डिल्लीराज अर्याल गत भदौमा कम्पनीबाट बाहिरिएका थिए । सरकारले उक्त पदमा कुनै पनि व्यक्ति नियुक्त नगरेपछि कम्पनीको पदपुर्ती उप–समितिमार्फत खुला प्रतिस्पर्धाबाट सीईओ छनौट प्रक्रिया अघि बढाइएको थियो ।

खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्ने प्रक्रिया अघि बढे पनि पुनः अर्थले नै ओझाको नाम सिफारिस गरेको हो । अर्यालपछि कम्पनीले सुभाष कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको थियो ।

कम्पनीले खुल्ला प्रतिष्पर्धाबाट सीईओ नियुक्तिको लागि विज्ञापन आह्वान गरेको थियो । कम्पनीको पदपूर्ति समितिले मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो । कम्पनीको सीईओ बन्न ११ जनाले आवेदन दिएका थिए । तीमध्ये शैक्षिक योग्यता, कार्याअनुभव र व्यवसायीक कार्ययोजना मूल्याङन योजनाबाट प्राप्त गरेको कुल योगफलको आधारमा उच्च अंक प्राप्त गरेकाको नाम सार्वजनिक गरेको थियो । आवेदकमध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट  गरेकाे थियो ।

अर्थमन्त्री जनार्दशन शर्माले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती उपसमितिले सिफारिस गरेकामध्ये तेस्रो वरियतामा रहेको व्यक्तिलाई नियुक्त गर्न दबाब दिएका थिए ।

तर कम्पनीको सञ्चालक समितिले उक्त निर्देशन मानेन । अर्थमन्त्री शर्माले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराललाई नियुक्ति नगरे प्रकृया नै रद्ध गर्ने धम्की दिँदै आएका थिए । पदपुर्ती सिफारिस उपसमितिको मूल्याङ्कनमा तेस्रो नम्बरमा रहेका शेखर बराललाई नै नियुक्त गर्न मन्त्रालयले दवाव दिएपछि कम्पनीको सञ्चालक समितिले नटेरेपछि अन्तत शर्माले उक्त उपसमितिकै सिफारिसलाई लत्याएर ओझालाई पठाएका छन् ।

प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको विषयलाई नेकपा माओवादी भित्रका दुई गुटको लडाईँले नियुक्ति प्रकृया नै अन्योलमा परेको थियो । माओवादीको एउटा गुटले सुरेन्द्र थापालाई नियुक्त गर्न चाहिरहेको थियो भने अर्को गुटले शेखर बराललाई नै नियुक्त गर्नुपर्ने अडान राख्दै आएको थियो ।

Ad