
बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए ।
बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिएको छ ।
राष्ट्र बैंकको ‘ग्लोबल मनि विक’: बरियारपट्टी पुग्याे वित्तीय जागरण, राष्ट्रिय अभियान

नेपाल राष्ट्र बैंकले यो सातालाई ‘ग्लोबल मनि विक’को रुपमा मनाइ रहेको छ । अहिले विभिन्न बैंक वित्तले वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
वित्तीय जागरण राष्ट्रिय अभियानले मधेश प्रदेशमा रहेको विकट ठाउँ मानिने सिरहको बरियारपट्टी गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ । ग्रामीण अर्थतन्त्रलाई मध्येनजर गर्दै सीमा नाका नजिकै रहेको बरियारपट्टी गाउँपालिकासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।
पुनरकर्जाको ब्याजदर बढ्यो

पुनरकर्जाको ब्याजदर बढेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षामा पुनरकर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो । ५ प्रतिशत ब्याजदरमा दिइरहेको पुनरकर्जालाई राष्ट्र बैंकले ७ प्रतिशत बनाउने घोषणा मौद्रिक नीतिको मध्यावधी समीक्षामा गरेको थियो ।
राष्ट्र बैंकले पुनरकर्जा बढाउने नीति कार्यान्वयन गर्नको लागि पुनरकर्जा कार्यविधि २०७७ मा संशोधन गर्दै ब्याजदर बढाएको थियो । कृषि तथा उद्योग क्षेत्रको विकासको लागि २ खर्व १२ अर्व ८८ करोड ननाघ्ने गरी पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकेको छ ।
कोभिड–१९ को असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध श्रोतको आधारमा पुनरकर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कोभिडबाट अति प्रभावित बाहेक व्यवसायलाई अब पुनरकर्जा सुविधा नदिने घोषणा गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको विदा सूची सार्वजनिक

नेपाल राष्ट्र बैंकले वि.सं.२०७९ सालमा बैंक तथा वित्तीय संस्था विदा हुने सूची सार्वजनिक गरेको छ । विभिन्न ३४ प्रकारका चाडपर्व तथा महोत्सवका कारण मात्रै करिब ४४ दिन बैंकका कर्मचारीलाई विदा हुने भएको छ ।
तीमध्ये केही दिन सम्बन्धित समुदायका कर्मचारीका लागि मात्रै विदा हुनेछ । यस पटक दसैँको विदा ७ दिन परेको छ । असोज १० गते घटस्थापनाका दिन विदा छ भने १६ गते फूलपातीका दिनदेखि २१ गते द्वादशीका दिनसम्म बैंक कर्मचारीलाई विदा हुने भएको छ । त्यस्तै तिहारमा ५ दिन विदा दिइएको छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्म तिहार विदा छ । ५ वटा विदा भने सरकारले निर्णय गरेबमोजिम कायम हुने राष्ट्र बैंकले जनाएको छ ।
यीबाहेक प्रत्येक शनिबार विदा हुनेछ । वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ कारोबार हुनेछ । कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि साँझ ३ बजेसम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक देवकुमार ढकाललाई बैंक सुपरीवेक्षण विभागमा सरुवा गरिएको छ । यस्तै नियमन विभागमा भने सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टलाई सरुवा गरिएको छ ।
बैंक सुपरिवेक्षण विभागले ‘क’ वर्गका बैंकहरुको मात्रै सुपरीवेक्षण गर्छ भने नियमन विभागलाई क, ख, ग र घ चारै वर्गका बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने अधिकार तोकिएको छ । सुपरिवेक्षण विभागबाट नियमनमा पुगेका भट्ट राष्ट्र बैंकका प्रवक्ता समेत हुन् भने नियमनबाट सुपरीवेक्ष्ण पुगेका ढकाल पूर्व प्रवक्ता हुन् ।
एनएमबि क्यापिटलको सिईओमा दीपेश कुमार वैद्य

एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दीपेश कुमार वैद्य नियुक्त भएका छन् । सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा वैद्यलाई नियुक्त गरेको हो ।
वैद्यसँग स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव रहेको छ । वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव रहेको छ ।
बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिः जीवन बीमाको ५ अर्ब, निर्जीवनको २.५ अर्ब !

बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । समितिको निर्णयसँगै अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब पुग्नेछ ।
पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई एक महिना अवधीभित्र बीमा कम्पनीहरुलाई व्यापारिक योजना बनाउन निर्देशन दिने र व्यापारिक योजनाको सम्बन्धमा अध्ययन गरेर थप निर्णय गर्ने बीमा समितिले जनाएको छ ।
बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण
बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ। मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन्।
यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सक्ने भएका हुन्।
नेप्सेमा सूचिकृत कम्पनीको नयाँ वर्गीकरण, ‘ए’ वर्गमा २५ वाणिज्य बैंक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचिकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को व्यवस्था बमोजिम कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको हो ।
साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा सीमित गरिएको थियो । २०७५ देखि नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने ब्यवस्था छ । सोहि अनुसार नेप्सेले संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ वर्गिकरण सार्वजनिक गरेको हो ।
नेप्सेले गरेको वर्गिकरणमा राम्रो मानिने ‘ए’ वर्गमा मा २५ वटा वाणिज्य बैंक परेका छन्। एनआईसी एसिया बैंक बाहेक सबै वाणिज्य बैंक ए मा परेका हुन् । एनआईसी भने जेड वर्गमा परेको छ । त्यस्तै ए वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त, ३ वटा हाइड्रो र उत्पादन समुहबाट शिवम् सिमेन्ट परेको छ ।
मेगा बैंकलाई एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड

मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। मेगा बैंकले ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी हुन्।
सिंगापुरस्थित वल्र्ड बिजनेस आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो।
वोमी र सूर्योदय लघुवित्तको एकीकृत कारोबार चैत १९ देखि

वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्जरमा सामेल भएका छन् । दुई संस्थाले मर्जरपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट यही चैत १९ देखि एकीकृत कारोबार थाल्ने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियम ११ को उपविनियम ७ अनुसार एकीकृत कारोबारबारे सर्वसाधारणलाई जानकारी दिएको हो ।
थप ३ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन) थप ३ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। सेबोनले सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।
सेबोनले सीवाईसीलाई चैत ९ गते र रिभर फल्सलाई चैत १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो। यस्तै उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको अनुमति पाएको छ ।
बैंकिङ कसुर मुद्दामा पक्राउ

बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी तेण्डी शेर्पालाई पक्राउ परेका छन् । कञ्चनजङ्घा निर्माण सेवाका प्रोप्राइटर रहेको रामेछापको बाम्तीका शेर्पालाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो । उनले दिएको १ करोड ६७ लाखको चेक बाउन्स भएको बताइएको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ बस्ने ३६ वर्षीय नवराज धिमाल रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार गोकर्णेश्वरबाट पक्राउ गरेको हो।
उनले प्राइम बैंक लिमिटेडको खातामा चेक नभएको भन्ने थाहा पाएर पनि चेक काटेर दिएका थिए। त्यसरी ठगेपछि पीडितले उनीविरूद्ध मुद्दा हालेका थिए। त्यसमा असोज १८ गते उच्च अदालत पाटनले उनलाई पाँच दिन कैद र २० लाख जरिवाना सजाय सुनाएको थियो।
प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनगरा गाउँपालिका–१ का ३६ वर्षीय शम्सेर आलम रहेका छन् । प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका अनुसार उनलाई सोमबार सुनसरीबाट पक्राउ गरेको हो।
उनलाई उच्च अदालत मोरङले २०७५ फागुन २७ गते ३ महिना कैद र ७१ लाख ९० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। आलमलाई अदालतमा उपस्थित गराउँदा उनले जरिवाना बापतको रकम व्यहोर्न नसक्ने बताएका थिए।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हटौंडा ठेगाना भएका ३८ वर्षीय रगुन खड्के रहेका छन् ।
उच्च अदालत पाटनको २०७७ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर भएका
उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो । खड्केले महालक्ष्मी बिकास बैंक लिमिटेड न्यूरोडको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।