नेपालमा बसेर काम गर्ने विदेशी नागरिकहरुलाई आफ्नो मुलुकमा पारिश्रमिक पठाउन सहज भएको छ । आफ्नो मुलुकमा पारिश्रमिक पठाउँदा राष्ट्र बैंकको अनुमति नचाहिने भएपछि नेपालमा काम गर्ने विदेशी नागरिकलाई सहज भएको हो । यसअघि विदेशीले भारतीयबाहेक अन्य सबै परिवत्र्य मुद्रामा पारिश्रमिक पठाउँदा राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था थियो । उक्त व्यवस्था खारेज गरी राष्ट्र बैंकले केही सहज व्यवस्था ल्याएको हो ।
अब उनीहरूले तोकिएको कागजातसहित वाणिज्य बैंक र विकास बैंकबाट सीधै रकम सटही गरी पारिश्रमिक पठाउन सक्नेछन् । यस बारेमा राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकलाई निर्देशन दिइसकेको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
नयाँ व्यवस्थाअनुसार अब विदेशी कामदारले परिवत्र्य मुद्रामा पारिश्रमिक पठाउँदा आफ्नो कुल आम्दानीबाट कर कट्टीपछि आउने रकमको बढीमा ७५ प्रतिशत आफ्नो मुलुकमा पठाउन सक्नेछन् । ‘यस्तो रकम बढीमा मासिक अमेरिकी डलर ३ हजारका दरले वार्षिक ३६ हजारसम्म पठाउन सकिनेछ,’ राष्ट्र बैंकद्वारा जारी परिपत्रमा उल्लेख छ । सञ्चय कोष र अवकाश कोषमा जम्मा भएको रकमको हकमा भने कर कट्टीपछि सबै रकम पठाउने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी रकम पठाउँदा बैंकमा रोजगारदाता कम्पनीको सिफारिस, नेपाल सरकारको श्रम विभागको श्रम स्वीकृति पत्र, कर्मचारीको परिचयपत्र, नियुक्तिपत्र, कर तिरेको प्रमाणपत्र र प्रवेशाज्ञा (भिसा) पत्र पेस गर्नुपर्नेछ ।
भारतीयलाई थप सहजता
भारतीय नागरिकले भारुमा पारिश्रमिक पठाउने व्यवस्था झनै सहज बनाइएको छ । नयाँ व्यवस्थाअनुसार भारतीय नागरिकले पनि आफ्नो पारिश्रमिकको ७५ प्रतिशत रकम नै पठाउन पाउँछन् । तर, त्यसका लागि कम मात्र कागजात भए पुग्छ । यस्तै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाहरूका लागि अनिवार्य नगद मौज्दात (सीआरआर) गणना प्रक्रिया कार्यान्वयनका लागि निर्देशन दिएको छ ।



