Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तरलता अभावः बैंकहरुले ७ प्रतिशत ब्याज तिरेरै लिन थाले अन्तरबैंक सापटी

२०७८ चैत्र १ गते

बैंकिङ खबर/ तरलता अभाव समाधान हुन नसकेपछि बैंकहरुले अन्तरबैंक सापटीमा ७ प्रतिशतभन्दा बढी ब्याज तिर्न थालेका छन् । अभाव चर्किएपछि बैंकहरुले अन्तरबैंक सापटी महंगो ब्याजदरमा लिन थालेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुन २९ गतेसम्ममा बैंकहरुको अन्तरबैक सापटीको ब्याजदर ७ प्रतिशत भन्दा माथि पुगेको छ । आइतबारसम्ममा ७.०२ प्रतिशत पुगेको हो ।

गत एक महिना अघिसम्म अन्तरबैंक सापटीको ब्याजदर ५ प्रतिशतको हाराहारी थियो । मौद्रिक नीतिको अर्धवर्षिक समिक्षामा केन्द्रीय बैंकले स्थायी तरलता सुविधा, बैंक दर लगायतको ब्याजदर बढाएपछि बैंकहरुले पनि अन्तरबैंक सापटीमा ७ प्रतिशतसम्म ब्याज दर हाल्न थालेका थिए ।

बैंकहरुले ५ प्रतिशतको सिमा नाघेर अन्तरबैक सापटी लिन थालेपछि केन्द्रीय बैंकले उक्त सिमालाई बढाएर ७ प्रतिशत पुर्याए पनि अहिले बैंकहरुले ७ प्रतिशतभन्दा पनि माथि पुगेर सापटी लिन थालेका छन् ।

अहिले नेपाल राष्ट्र बैंकको ब्याजदर करिडोरको व्यवस्था अनुसार बैंकहरुको अन्तरबैंक सापटीको ब्याजदरको माथिल्लो सिमाको रुपमा ७ प्रतिशतलाई कायम गरेको छ । अहिले बैंकहरु दैनिक रुपमा तरलता व्यवस्थापन गर्न ७ प्रतिशतभन्दा बढी ब्याज तिरेर नै अन्य बैंकहरुसँग सापटी लिन थालेका छन् ।