Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वित्तीय सम्मेलनले कर्णालीको अर्थतन्त्रको ढोका खुलेको छः मुख्यमन्त्री शाही

२०७८ फाल्गुन २९ गते

अब कर्णालीमा वित्तीय साक्षरता आवश्यक छः मुख्यमन्त्री शाही

जीवनबहादुर शाही
मुख्यमन्त्री, कर्णाली प्रदेश

कर्णाली सबै कुरामा पछि परेको छ । कहिले काहीँ मलाई लाग्छ, किन यस्तो हुँदैछ ? यहाँ उत्पादन भएका कृषि उत्पादन काठमाडौंमा सयौं गुणा बढी महँगो पर्छ । हामी कर्णालीमा हुँदा यहि वस्तुको बेवास्ता गर्छौं तर काठमाडौंमा महँगोमा किनेर खाँदा गर्व महसुस गर्छौं । कर्णालीमा के छैन, यहाँ सबै रोगका लागि उपचार गराउन सकिने जडिबुटी छन् तर सदुपयोग गर्न सकेका छैनौं ।

यहाँको वनजंगल, झरनाबाट फाइदा लिन सकिने सयौं कुरा छन् तर सबै खेर गइरहेका छन् । दुबईमा सिमेण्टका कृतिम पहरो बनाएर पर्यटक आकर्षित गरेका छन् तर कर्णालीमा त त्यस्ता प्राकृतिक पहरा कति छन् कति ।

अन्यथा अर्थ नलागोस् , नेपालमा भएका माडबारी समुदायले एक रुपैयाँ पनि खल्तीमा राख्दैनन् । उनीहरुले एक रुपैयाँ भएपनि बैंकमा राख्दा ब्याज आउँछ भन्ने सोच राख्छन् । तर हामी यस्तो प्रदेशमा छौं, जहाँ एक लाख रुपैयाँ भएपनि सिरानी मुनी राखेर सुत्छौं । हामीलाई खल्तीमा पैसा नभए खानै पाउँदैनौं भन्ने सोच राख्छौं ।

 

खैँ वित्तीय अनुशासन ?

एटिएम कार्ड, भिसा कार्ड त हामीले वास्तै गर्दैनौं । यसको प्रयोग खैँ जानेको हामीले ? खैँ वित्तीय अनुशासन ? अहिले हामी विदेश जाँदा डलर, पाउण्डमा खर्च गर्छौं । जेनतेन कतै कतै आइसि नोट चल्छ तर नेपाली नोट त चल्दै चल्दैन । जहाँ गए पनि काम नगरि हुँदैन । आज हामी सुनको थाल बोकेर भीख मागिरहेका छौं । कर्णाली आफैंमा सुनको भण्डार हो । तर हामीले खै कुरा बुझेको ?

अहिलेको अवस्था ठिक उल्टो छ । पछिल्लो अवस्थाले किसानहरु चाहिँ गरिब हुने भए । व्यापारी धनी हुने भए । कृषि उत्पादनको हिस्सा किसानलाई जानु पर्ने हो तर आज त्यहि किसान भोकभोकै बस्नु पर्ने अवस्थामा छन् । हिजोआज फापरको रोटी काठमाडौंको तारे होटलमा एकपिसको ५ सयसम्म पर्छ तर त्यही फापर कर्णालीमा कति फल्छ कति, यहाँ एकमुरीको ५ सय पनि आउँदैन । यो अवस्थाले कर्णाली पछि पर्नु परेको हो ।

वित्तीय साक्षरता आवश्यक छ

कर्णालीमा अब वित्तीय साक्षरता आवश्यक छ । गाउँ–गाउँमा मात्र नभएर घर घरमा पुगेर जनचेतना जगाउनुपर्छ । वित्तीय अनुशासनबारे सिकाउनुपर्छ । यहाँ कमाएको पैसालाई बैंकमा राख्न सिकाउनुपर्छ । बैंक र किसानको सम्बन्ध बुझाउनुपर्छ । किसानलाई बैंकको महत्व र फाइदाबारे चेतना जगाउन सकिएमात्र कर्णालीलाई आर्थिक रुपमा माथि उकास्न सकिन्छ । हुन त अहिले यहाँ वित्तीय साक्षरता शुरु भएको छ ।

आज अमेरिका त्यतिकै अमेरिका भएको होइन, जापान त्यतिकै जापान भएको होइन । उनीहरुले सेकेण्ड सेकेण्ड, घन्टा घन्टाको महत्व बुझे । हरेक समय सदुपयोग गरे । कसरी नयाँ काम गर्न सकिन्छ भनेर सोचे । आफूले बुझे र अरुलाई बुझाए । त्यसैले विश्वमै समृद्ध भए । त्यहाँको अवस्था पनि पहिले हाम्रै देशको जस्तो थियो । त्यसो भए के हामी उनीहरु जस्तो बन्न सक्दैनौं र ? हामीसँग पनि सबै चिज छन् ।

समयमायी चिजको महत्व बुझाउँदै सदुपयोग गर्ने हो भने हामी पनि उनीहरु जतिकै समृद्ध बन्न सक्छौं । लेखेर राख्नुस्, तीन महिनामा कर्णालीको मुहार अर्कै हुन्छ । तर यहाँ समयको महत्व बुझ्नु पर्छ । एक मिनेट समय गयो भने त्यो फर्केर आउँदैन । सबैको समय उस्तै हो । कोही यहाँ सेकेन्डमै अर्बौं कमाउँछन् , कोही दिनभरि भीख माग्छन् । यो असमानता रहेसम्म कुनै देशको पनि विकास हुन सक्दैन ।

हामीले दिनभरि दुःख गरेर कमाएको पैसा सदुपयोग गर्न सकेनौं भने त्यो वित्तीय अनुशासन होइन । वित्तीय अनुशासन कायम गर्नु भनेको पैसा कमाउनु मात्र होइन । त्यसलाई वित्तीय संस्थाहरुमा जम्मा गर्न पनि जान्नु पर्छ । चाहिएको बेलामा झिक्न पनि सकिन्छ । खल्तीमा राख्दा हराउन सक्छ । नष्ट हुन सक्छ । तर समय अनुसार हामी परिवर्तन हुन सकेनौं भने अरुले यसो गरे उसो गरे भन्नुको अर्थ छैन ।

(कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतमा मिडिया इन्टरनेशलले आयोजना गरेको वित्तीय सम्मेलनमा राखेको मन्तव्यको सम्पादित अंश)

 

Ad