
बैंकिङ खबर/ नेपालमा यो साता पनि बैंक वित्त क्षेत्रमा विभिन्न गतिविधिहरु भएका छन् । राष्ट्र बैंकले विभिन्न निर्देशिका जारी गरेको छ भने मिडिया इन्टरनेशनलले कर्णाली प्रदेशको सुर्खेतमा वित्तीय सम्मेलन आयोजना गरेको छ । समग्रमा, साताको सुरुवातदेखि बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु तल प्रस्तुत गरिएको छ ।
राष्ट्र बैङ्कको पाँच वर्षे रणनीति

नेपाल राष्ट्र बैङ्कले पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ। सन् २०२२ देखि २०२६ सम्मका लागि उक्त रणनीतिक योजनाले केन्द्रीय बैङ्कको आगामी पाँच वर्षको समग्र कार्य र रणनीति तय गरेको छ। सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको राष्ट्र बैङ्कको यो चौंथो रणनीतिक योजना हो ।
यो रणनीतिक योजना आगामी पाँच वर्षका लागि राष्ट्र बैङ्कको ‘रोडम्याप’ हुने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उल्लेख गरेका छन्। केन्द्रीय बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनर्स्थापना गर्न, राष्ट्रले अपेक्षा गरेअनुसार अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग प्रभावकारी संयोजन गर्न र बैङ्किङ, वित्तीय र बाह्य क्षेत्रसँगको स्थायित्व कायम गर्न अवलम्बन गर्नुपर्ने विशेष र नवप्रवर्धनात्मक उपाय यो रणनीतिक योजनामा समेटिएको छ।
रणनीतिले परिलक्षित गरिएको आधारमा नै राष्ट्र बैङ्कले आगामी दिनमा आफ्ना काम कारबाहीलाई अगाडि बढाउने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले बताए । यो योजनाले सात रणनीतिक खम्बा र १८३ कार्ययोजनालाई समेटेको छ। रणनीतिक योजनाअनुसार राष्ट्र बैङ्कले आगामी पाँच वर्षमा भूकम्पले भत्काएको केन्द्रीय बैङ्कको भवन निर्माण सम्पन्न हुने, मुद्रा व्यवस्थापनको आधुनिकीकरण गर्ने, थोत्रा नोट धुल्याउने नयाँ प्रविधिलाई प्रयोगमा ल्याइने लक्ष्य बनाएको छ। त्यस्तै विद्युतीय कारोबारको प्रवर्द्धन गर्ने, नेसनल पेमेन्ट स्विच कार्यान्वयनमा ल्याइनेलगायतका उपलब्धि हासिल हुने विश्वास लिएको छ।
राष्ट्र बैंकद्वारा सुन आयातमा कडाई, आयातको दैनिक कोटा १० केजी

नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको । केन्द्रीय बैंकले आइतबार एक निर्देशन जारी गर्दै सुन आयातको दैनिक कोटा १० केजीमा झारेको हो ।
राष्ट्र बैंकले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो। आइतबार उक्त सिमा घटाएर १० केजीमा झारेको हो।पछिल्लो समय सुनको आयात बढ्दै गएको छ। मूल्य बढ्दा पनि आयातमा सुनको हिस्सा बढ्दै गएको छ। यसै कारण केन्द्रीय बैंकले सुनको आयातमा कडाई थालेको हो।
सुर्खेतमा वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी

कर्णाली प्रदेशस्तरीय पहिलो वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी सम्पन्न भएको छ । मिडिया इन्टरनेसनलको आयोजनामा बिहीबार र शुक्रबार दुई दिन सुर्खेतको वीरेन्द्रनगरमा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, युवा स्वरोजगार कोष, बीमा समिति लगायतको सक्रिय सहभागिता रहेको थियो । सम्मेलनमा शेयर बजार, बीमा, बैंक र लुघवित्तका बारेमा सूचनामूलक स्टलहरु अवलोकन गरेका थिए ।
राष्ट्र बैंकद्वारा १० अर्ब रुपैयाँ बराबरको रिपो जारी

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ। यस बैंकले बिहीबार उक्त परिमाणको रिपो बोलकबोल गरेको हो। तरलता अभाव टार्न रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ। १४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउने बताइएको छ।
एक रुपैयाँका नयाँ सिक्का
नेपाल राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याएको छ। बैंकले बुधबारदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याएको हो ।
लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको छ ।
२०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी ९ अर्ब ९१ करोड पुगेको छ । जुन २०७८ असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो ।
हिमालयन बैंकका मर्जर कमिटीका दुई सदस्यले दिए राजीनामा !

हिमालयन बैंकको मर्जर कमिटिबाट दुई सञ्चालकले राजीनामा दिएका छन् । बैंकका सञ्चालक सुनिल थापा र आशीष शर्माले राजीनामा दिएका हुन् ।
हिमालयन बैंकको तर्फबाट थापा र शर्मा सयुक्त मर्जर कमिटिको सदस्य थिए । हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेको थियो । साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि सयुक्त मर्जर कमिटिले डिमर्जरको गर्ने निर्णय राष्ट्र बैंकमा बुझाउनुपर्ने थियो । आफूहरु मर्जरको पक्षमा रहेको र साधारणसभाले मर्जरको प्रस्ताव पास नगरेपछि कमिटिबाट राजीनामा दिएको सञ्चालक थापाले बताए ।
मर्जर कमिटिमा रहेर मर्जरमा जाने सम्झौता गरेको तथा साधारणसभाले मर्जरमा जाने प्रस्ताव बिफल गरेको हुँदा मर्जर कमिटिमा बस्ने नैतिकताले नदिएको आशीष शर्माले जानकारी दिए ।
डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर

यसैसाता नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको थियो ।
अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्ने भएको थियो ।
अब डिजिटल माध्यमबाट २ अर्ब सम्मको राजस्व भुक्तानी

अब डिजिटल माध्यमबाट २ अर्ब सम्मको राजस्व भुक्तानी गर्न सकिने भएको छ । नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएका एनसिएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणाली मार्फत् गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी(पठाउने र पाउने बैंक-वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रति कारोवार सीमा वृद्घि गरिएको छ ।
विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात कारोबार सीमा बृद्धि गरिएकोमा अब बैंक-वित्तीय संस्थाका ग्राहकहरुले सरकारी राजस्व भुक्तानी गर्दा एनसिएचएल बैंक सेन्ट्रल मार्फत पठाउने र पाउने बैंकमा २ अर्ब सम्म, र कर्पोरेटपे मार्फत पब्लिक नेटवर्कबाट पठाउने र पाउनेमा रु १ करोड र प्राइभेट नेटवर्कबाट पठाउने र पाउनेमा ५ करोड सम्म गर्न सक्नेछन् ।
वृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने र पाउने बैंक -वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ भने पाउने र पठाउने बैंक-वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी ३० करोड सम्म र रियल टाइम भुक्तानी २० लाख सम्म नै लागू हुने छ ।
थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ । विशेषत नेपाल सरकार अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायहरुका लागी यो सुविधा थप प्रभावकारी हुनेछ ।
नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ यसैसाता बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो।
यो संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।
संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको थियो भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरिएको थियो।
राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीहरुलाई गलत लिखत तयार गरी भ्रष्टाचार गरेको पुष्टि भएसँगै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । मुद्दा दायर हुनेमा नेपाल राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालिन शाखा प्रबन्धक रामजनक चौधरी, बि.टी. निर्माण सेवा र सोका तत्कालीन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र ठेक्का नं। ०३–०७०–०७१ का लागि जे.भी.का प्रतिनिधि पुन्न बहादुर शाही रहेका छन् ।
दाङको सडक कार्यालय अन्तर्गत ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी वि.टी.रटौदहरफस्कु जे.भी. काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
बैंकिङ कसुरमा दोषी ठहर भएका व्यक्ति पक्राउ

बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् । गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो ।
तर, फरार रहँदै आएका उनलाई आइतबार काठमाडौं जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ ।
बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौंकाे नयाँ बानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बन्जाडेलाई प्रहरीले पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको ०७७ पुस २४ र ०७८ मंसिर २१ गतेको फैसलाले उनीमाथि ४ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले थापागाउँबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।