Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा पहिलाे दिनमै मागभन्दा १० गुणा बढी आवेदन

२०७८ फाल्गुन ११ गते

बैंकिङ खबर/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै १० गुणा बढी आवेदन परेको छ। सिडिएस क्लियरिङले जनाए अनुसार पहिलो दिन आज साँझ ५ बजेसम्ममा ६ लाख ५७ हजार ७५ जना आवेदकले ७८ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको ७८ लाख ६८ हजार १५० कित्ताका शेयरको लागि आवेदन दिएका छन्।

यस लघुवित्तले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको हाे। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ।

कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा आजदेखि फागुन १५ गतेसम्ममा आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

यस लघुवित्तको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २५ करोड ५० लाख रुपैयाँ र चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

०७५ फागुन २१ गतेदेखि राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा औपचारिकरुपमा वित्तीय कारोबार शुरु गरेको लघुवित्तले हाल १२ जिल्लामा ५६ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

Ad