
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । नवनियुक्त अध्यक्ष हमालले आइतबार धितोपत्र बोर्ड पुगेर कार्यभार सम्हाल्दै सो कुरा बताएका हुन् ।
उनलाई धितोपत्र बोर्डका कर्मचारीहरुले स्वागत गर्नुका साथै सफल कार्यकालको शुभकामना दिएका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष हमालले आफू पुँजीबजार विस्तार र विकासका लागि काम गर्न आएको बताए ।
उनले भने, ‘पुँजीबजारको पछिल्लो अवस्थाबारे सरकार, धितोपत्र बोर्डलगायत सबै नियामक निकाय चिन्तित छन् । त्यसैले पुँजीबजार र आमलगानीकर्ताको हितलाई ध्यानमा राखेर काम गर्ने नै मेरो पहिलो प्राथमिकता हुनेछ ।
नियामकको काम नै नियमन गर्ने भएकोले आफूहरु सोहीअनुसार अगाडि बढ्ने अध्यक्ष हमालको भनाइ छ । योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले हमाललाई सेबोन अध्यक्षमा गत सोमबार सिफारिस गरेको थियो ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकलाई उनलाई अध्यक्षमा नियुक्त गरेको हो । धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो ।