
बैंकिङ खबर/ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर(आइपीओ) आइतबारमात्रै बाँडफाँड भएको छ । यो लघुवित्तको शेयर भर्नेको संख्याले नयाँ कीर्तिमान बनाएको थियो । संस्थाको प्राथमिक शेयरको निष्काशनमा २७ लाख ९ हजार ८५५ जनाले आवेदन दिएका थिए । आवेदनहरुबाट ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताको लागि जम्मा आवेदन परेको थियो ।
सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट १ लाख १८ हजार १५३ जना आवेदकहरुबाट २४ लाख ३० हजार ३२० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको २५ लाख ९१ हजार ७०२ जना आवेदकहरुबाट प्राप्त ३ करोड ७१ लाख ६ हजार ८३० कित्ता सेयर मध्ये सिडीएस एण्ड क्यिरीङ्ग लिमिटेडबाट ४८ हजार ४३ जना आवेदकहरुलाई शंकास्पद सूचीमा समावेश गरेको थियो । सो विवरणलाई रुजु गर्दा ४ हजार २९० जना आवेदकहरुबाट प्राप्त ५० हजार ६०० कित्ता सेयरहरु दोहोरो आवेदन परेकोले सो आवेदनलाई रद्ध गरी २५ लाख ८७ हजार ४१२ जना आवेदकहरु मार्फत प्राप्त जम्मा ३ करोड ६६ लाख ६ हजार १९० कित्ता सेयर मध्येबाट ४८ हजार ७९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको छ ।
प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई माघ २१ गतेदेखि २५ गतेसम्म सार्वजनिक निष्काशन खुल्ला गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरिएको कूल सेयर ५ लाख २२ हजार कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर २६ हजार १०० कित्ता तथा कर्मचारीहरुलाई ८ हजार कित्ता छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब ६५.६३ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड गरिएको हो ।
इमर्जिङको आईपीओमा मागभन्दा ५४ गुणा बढी आवेदन
गत बुधबारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ नेपाल लिमिटेडको आईपीओमा मागभन्दा करीब ५४ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ खरीदका लागि आइतवार साँझ सवा ५ बजेसम्म २४ लाख १५ हजार ९१९ जनाले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता सेयर खरीदको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो ।
कम्पनीले प्रतिसेयर रू. १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता सेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो। कुल कित्तामध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो। यो सेयर विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ ।
आईपीओको नतिजा आएको केही समयपछि सामाजिक सञ्जालमा आजभोली लगानीकर्ताहरुले आईपीओ नपरेकोबारे निराशा प्रस्तुत गर्ने गरेका छन् । लगानीकर्ता बसन्त अर्याल आफुलाई लामो समयदेखि आईपीओ नपरेको गुनासो गर्छन् । अर्का लगानीकर्ता सुजन लम्साल लामो समयदेखि आईपीओ नपरेपछि आईपीओ नै भर्न छोड्ने सामाजिक सञ्जालमा निराशा पोख्छन् । तर पछिल्लो समय आईपिओ नपरेपछि सामाजिक सञ्जालमा गुनासाहरु पोख्ने धेरै छन् ।
करिब ६ महिनासम्म रोकिएको प्राथमिक सेयर (आईपीओ) माघ ४ गतेबाट खुल्न थालेको हो । अरु ३ कम्पनीको आईपीओ पनि दुई महिनाभित्रै आउने छ । ग्रीन भेन्चर हाइड्रोपावर, नेस्डो समृद्धि लघुवित्त र राष्ट्रउत्थान सामुदायिक लघुवित्तको आईपीओ आउने छ । यी ३ कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । ग्रीन भेन्चरले ६२ लाख ५० हजार, नेस्डोले ८ लाख २८ हजार ७५० र राष्ट्रउत्थानले ८ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको आईपीओ निष्कासन गर्नेछन् ।
चालु आर्थिक वर्षमै थपिए ११ लाख बढी ‘डिम्याट खाता’
पछिल्लो समय सर्वसाधारणले शेयर बजारमा चासो बढाएसँगै डिम्याट खाता ४८ लाख ३० हजार ४ सय ७५ पुगेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्ष (आ.व) २०७८÷७९ को साढे ६ महिनाको अवधिमा ११ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् ।
चालु आवको साउनदेखि माघ १६ गते आइतबारसम्म ११ लाख २ हजार ९ सय ८ जनाले डिम्याट खाता खोलिएका छन् । गत आव २०७७÷७८ को असार मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ९१ हजार ४५७ रहेको थियो । यो संख्या माघ १७ गतेसम्म बढेर ४८ लाख ३० हजार ४७५ पुगेको छ। गत आवमा मात्र २० लाख ६६ हजार ६९९ डिम्याट खाता खुलेका थिए ।
सबैभन्दा बढी डिम्याट खाता बागमती प्रदेशमा चालु आवको साढे ६ महिनाको अवधिमा सबैभन्दा बढी डिम्याट खाता बागमती प्रदेशमा खुलेका छन् । उक्त अवधिमा यस प्रदेशमा ३ लाख ८० हजार ७७ डिम्याट खाता खुलेका छन् । यो सँगै हालसम्म बागमती प्रदेशमा १९ लाख ३८ हजार ६८७ डिम्याट खाता खुलेका छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात ३१ हजार ८१८ मात्र डिम्याट खाता खुलेका छन्। यो प्रदेशमा हालसम्म १ लाख ३ हजार डिम्याट खाता खुलेका हुन् ।
त्यस्तै, प्रदेश १ मा चालु आवको साढे ६ महिनाको अवधिमा २ लाख २० हजार ९८८ डिम्याट खाता खुलेका छन्। यो प्रदेशमा हालसम्म डिम्याट खाता खोल्नेको संख्या ९ लाख १३ हजार ५७९ पुगेको छ ।
त्यसैगरी डिम्याट खाताको संख्या गण्डकी प्रदेशमा हालसम्म ६ लाख ६३ हजार ६०४, लुम्बिनी प्रदेशमा ५ लाख ३४ हजार ९, मधेश प्रदेशमा ४ लाख ६८ हजार २२३ र सुदूरपश्चिम प्रदेशमा २ लाख ७३ हजार १३७ ले डिम्याट खाता खोलेका छन् । त्यस्तै, एनआरएन तथा विदेशमा बस्ने नेपालीहरुले खोलेका कम्पनीबाट चालु आवको माघ १६ गतेसम्म १० वटा डिम्याट खाता खुलेका छन् । हालसम्म यस्ता व्यक्ति र कम्पनीहरुबाट १२४ डिम्याट खाता खोलिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
प्रविधिका कारण सहज प्रवेश
पछिल्लो समय प्रविधिको विकाससँगै शेयरबजारमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । कुनै बेला सेयरमा आवेदन गर्नका लागि लगानीकर्ताले दिनभरको समय छुट्याउनु पथ्र्यो । सूचनाको अभाव, शेयरबारेको ज्ञान कम र आईपीओ आवेदनको भौतिक प्रणालीका कारण सेयर बजारमा छिर्न मानिसहरु असहज ठान्थे ।
तर अहिले नियमक निकायले सेयर बजारमा प्रविधिको अधिकतम् प्रयोग गरेका कारण सेयर आवेदन, दोस्रो बजारमा बिक्री जस्ता कामहरु देशको जुनसुकै कुनामा बसेर मोबाइलबाटै गर्न सकिने भएको छ । सेयरको सबै प्रमाण डिजिटल भएको छ भने आईपीओ आवेदन देखि दोस्रो बजारमा बिक्री र रकम संकलनकालागि लगानीकर्ता अहिले कही कतै जानु नपर्ने धितोपत्र बोडको भनाइ छ । धेरै आवेदन भएपछि सानो आकारको आईपीओ पर्न मुस्किल हुनु बजारको सामान्य नियम नै भएको पनि बोर्डको भनाइ छ ।