
बैंकिङ खबर/ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा हालसम्मकै धेरै आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन मंगलबार साँझ पाँच बजेसम्ममा सर्वसाधारणबाट २७ लाख ६ हजार ७६७ वटा आवेदन परेको हो। यो संख्या आईपीओमा परेको हालसम्मकै उच्च संख्या हो।
कम्पनीले सर्वसाधारणबाट ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि आह्वान गरिएकोमा मंगलबारसम्म ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता शेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ। जुन सर्वसाधारणबाट माग भएको रकमको ६८ गुणा बढी हो।
लघुवित्तले शुक्रबारदेखि कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको थियो। जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।
बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्तााट आवेदन मागिएको हो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जाल्पा लघुवित्तको आईपीओ ४८ हजार ७ सय ९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन्। यसरी हेर्दा २६ लाख ५० हजारभन्दा बढीको हात खाली हुने भएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
यस्तै लघुवित्तले वित्तीय संस्थालाई अपार माया र विश्वास गरेको भन्दै आभार प्रकट गरेको छ । सञ्चालक समितिका अध्यक्ष विर बहादुर अधिकारी र प्रमुख कार्यकारी अधिकृत बिमला योगीले एक ज्ञापनपत्र जारी गर्दै धन्यवाद एवं आभार प्रकट गरेका हुन् ।
कास्कीको पोखरा सिमचौरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाको चुक्तापुँजी १६ करोड रुपैयाँ र रिजर्भमा ३९ करोड ३७ लाख रुपैयाँ रहेको छ । अबको ३ वर्षमा अर्थात आर्थिक वर्ष २०८०/८१ मा रिजर्भको आकार ७१ करोड ४० लाख रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण रहेको छ । आव २०८०/८१ सम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ११२.८७ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। चालु आव २०७८/७९ मा ईपीएस ७४.३२ रुपैयाँ रहने अनुमान गरिएको संस्थाको आव २०७९/८० मा ८७.३३ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।
त्यस्तै आव २०८०/८१ मा संस्थाको प्रतिसेयर नेटवर्थ ४९३.६२ रुपैयाँ पुग्ने अनुमान गरिएको छ। चालु आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ २९७.४२ रुपैयाँ र आव २०७९/८० मा ३८३.०१.८३ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । संस्थाले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १८ करोड ५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको नाफा ११ करोड ८९ लाख रुपैयाँ र आउँदो आवमा १३ करोड ९७ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
अबको ३ वर्ष अर्थात आव २०८०/८१ लगानीको प्रतिफल २.४५ प्रतिशत हुने संस्थाको प्रक्षेपण छ । चालु आवमा यस्तो प्रतिफल २.२४ प्रतिशत र आगामी आवमा २.२२ प्रतिशत रहने संस्थाको अनुमान छ । आव २०८०/८१ सम्म निष्क्रिय कर्जा दर (एनपीएल) ०.६० प्रतिशतमा झर्ने प्रक्षेपण संस्थाको छ । चालु आवमा एनपीएल २.३० प्रतिशत र आगामी आवमा १.२४ प्रतिशत रहने संस्थाको अनुमान छ । हाल संस्थाले २४ जिल्लाहरुमा ८७ वटा शाखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुमगन कार्यालय र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आएको छ ।