
बैंकिङ खबर/ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन गरेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ बजेसम्ममा लघुवित्तको आईपीओमा १७ लाख ५४ हजार ५१७ जनाले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख ४९ हजार ४९० कित्ता शेयरको लागि आवेदन गरेका हुन् ।
यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ४४.५७ गुणाले बढी हो । लघुवित्तले माघ २१ गतेदेखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले माघ २५ गतेसम्म मात्रै आवेदन दिन सकिनेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कास्कीको पोखरा सिमचौरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाको चुक्तापुँजी १६ करोड रुपैयाँ र रिजर्भमा ३९ करोड ३७ लाख रुपैयाँ रहेको छ । अबको ३ वर्षमा अर्थात आर्थिक वर्ष २०८०/८१ मा रिजर्भको आकार ७१ करोड ४० लाख रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण रहेको छ । आव २०८०/८१ सम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ११२.८७ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। चालु आव २०७८/७९ मा ईपीएस ७४.३२ रुपैयाँ रहने अनुमान गरिएको संस्थाको आव २०७९/८० मा ८७.३३ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।
त्यस्तै आव २०८०/८१ मा संस्थाको प्रतिसेयर नेटवर्थ ४९३.६२ रुपैयाँ पुग्ने अनुमान गरिएको छ। चालु आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ २९७.४२ रुपैयाँ र आव २०७९/८० मा ३८३.०१.८३ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । संस्थाले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १८ करोड ५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको नाफा ११ करोड ८९ लाख रुपैयाँ र आउँदो आवमा १३ करोड ९७ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
अबको ३ वर्ष अर्थात आव २०८०/८१ लगानीको प्रतिफल २.४५ प्रतिशत हुने संस्थाको प्रक्षेपण छ । चालु आवमा यस्तो प्रतिफल २.२४ प्रतिशत र आगामी आवमा २.२२ प्रतिशत रहने संस्थाको अनुमान छ । आव २०८०/८१ सम्म निष्क्रिय कर्जा दर (एनपीएल) ०.६० प्रतिशतमा झर्ने प्रक्षेपण संस्थाको छ । चालु आवमा एनपीएल २.३० प्रतिशत र आगामी आवमा १.२४ प्रतिशत रहने संस्थाको अनुमान छ । हाल संस्थाले २४ जिल्लाहरुमा ८७ वटा शाखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुमगन कार्यालय र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आएको छ ।
‘ढुक्क भएर लगानी गर्नुस्’
संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगीले शुक्रबारदेखि आएकाे शेयरमा ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छन् ।
बैंकिङ खबरसँग कुरा गर्दै उनले भनिन्, ‘संस्था राम्रो छ । संस्थाको सूचकहरु राम्रो छ । हामीले यो लघुवित्त भनेर मात्र काम गरेका छैनौं । विपन्न परिवारलाई पनि मालिक बनाउँदै छौं । हामीले लगानी गरेका सदस्यहरु पनि उद्यमशिलतामा सफल हुनुभएको छ ।’