
बैंकिङ खबर/ विगत ५/६ वर्ष अघिसम्म नेपाली बैंकिङ क्षेत्रका नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक दुई चिर प्रतिद्धन्दीका रुपमा रहेका थिए । वासलतका हरेक सूचकहरूमा यी दुई बैंक बीच कडा प्रतिस्पर्धा हुने गर्थ्यो । तर, पछिल्ला वर्षहरुमा केही ठूला ऋण प्रोभिजनिङ गर्नुपरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक यो प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
पछिल्लो २ वर्ष यता नबिललाई टक्कर दिने गरी दुई बैंकको उदय भएको देखिन्छ । ती बैंक हुन् एनआइसी एशिया र बिग मर्जरको सिनर्जीबाट लम्किँदै गरेको ग्लोबल आइएमई बैंक । यी दुई बैंकको नयाँ ‘भर्सन’ले वर्षौंदेखि बैंकिङ क्षेत्रको लिडर बन्दै आएको नबिललाई टक्कर दिन थालेको छ । उक्त बैंकहरुले सार्वजनिक गरेको त्रैमासयताको वित्तीय विवरण हेर्दा तीन ठूला बैंकहरु नम्बर १ बन्ने होडमा देखिएको बैंकहरु मध्ये एक हो एनआइसी एशिया बैंक ।
मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौँ ग्राहकहरू माझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको याे बैंकले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणीस्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक छन् । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा करिब १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरि कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्याउन सफल भएको छ। साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरि कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्याउन बैंक सफल भएको छ।
बैंकले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाखभन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ। यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा याे बैंक अग्रणी स्थानमा रहेको छ।
बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएको छ। जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतले वृद्धि हो। यसैगरि बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन नेपालका २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको विश्वास रहेको छ।
यस बैंकले वार्षिक प्रतिशेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेकोसमेत बैंकको अनुमान रहेको छ। कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई ०.४७ प्रतिशतमा सीमित राख्न सफल भएको छ।
बैंकिङ क्षेत्रका विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को प्रथम त्रैमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रति शेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो।
देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ।
बैंकलाई आम जनताले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न पुगेको छ।
देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकले सेवा दिन सफल भएको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरि गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोडभन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको छ। जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान हाे।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति कम रहेका दुर्गम जिल्लाहरूमा तथा बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरि सञ्चालन गर्दै आइरहेको छ।
बैंक यसरी सफल हुनुमा ४ वर्ष अघि बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका रोशन न्यौपानेलाई जाने धेरैको बुझाइ छ। तर आफ्नो एक्लो प्रयासले मात्र बैंक सफल नभएको सिइओ न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘बैंक मेरो एकल प्रयासले मात्र सफल भएको हाेइन। बैंकमा संलग्न सबै कर्मचारीको भूमिका उत्तिकै महत्वपूर्ण छ।’ एनआइसी एशिया बैंकले अरूको काम हेरेर आफू अघि नबढ्ने भएकाले बैंक सफल भएको सिइओ न्यौपाने बताए। यस बैंकका आफ्नै कार्ययाेजना रहेकाे उनले प्रष्टयाए ।
केही वर्ष यता बैंकिङ क्षेत्रमा रोजगारीको आकर्षण पनि बढ्दो छ। बैंकको रोजगारीमा पछिल्लो पुस्ताको आकर्षण बढ्दै गर्दा धेरैलाई रोजगारी दिने बैंकहरूमध्ये एनआइसी एशिया बैंकको नाम अघि आउँछ। यस बैंकमा हालसम्म ४ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन्।
एनआईसी एशिया बैंकले साना तथा मझौला उद्यमी कर्जा (एसएमई)मा बढी जोड दिँदै आएको छ। यस्ताे कर्जा लगानीमा देशका अन्य वाणिज्य बैंकहरू भन्दा एनआईसी एशिया बैंक अग्रणी स्थानमा छ। एनआईसी एशिया बैंकको कुल कर्जामा ५ करोडभन्दा कम सीमा भएका कर्जाहरूको अंश ९० प्रतिशत हाराहारी छ। यस्तो कर्जाले कर्जा जोखिम कम हुने र निष्कृय कर्जा कम बनाउने कर्मचारीहरुले बताए। नभन्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंकले निष्कृय कर्जालाई ०.४७ प्रतिशतमा सीमित राख्न सफल भएको छ।
२४ वर्षदेखिको अनवरत यात्राको दौरानमा एनआईसी एशिया बैंक देशकै सबैभन्दा ठूलो र सबैभन्दा सहज, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेकाे दाबी छ।
बैंकले विभिन्न आकर्षक फाइदाहरुसहित नयाँ नयाँ योजना सार्वजनिक गरिरहेको छ। बैंकले भर्खरै मात्र २४ फाइदासहितको सर्वश्रेष्ठ निक्षेप योजना पनि ल्याएको छ। एनआईसी एशियाले उक्त योजनामा ल्याएको फाइदाहरु अन्य बैंकहरुमा नरहेको दाबी गरेको छ। ऊर्जाशील र क्षमतावान बैंकका सिइओ र एनआईसी एशिया बैंकका सबै कर्मचारीका कारण बैंकले नयाँ उचाइ हाशिल गरेकाेमा कुनै शंका छैन।