Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नम्बर १ बन्ने होडमा ३ ठूला बैंक, कुनको अवस्था कस्तो ?

२०७८ माघ १७ गते


बैंकिङ खबर/ विगत ५/६ वर्ष अघिसम्म नेपाली बैंकिङ क्षेत्रका नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक दुई चिर प्रतिद्धन्दीका रुपमा रहेका थिए । वासलतका हरेक सूचकहरूमा यी दुई बैंक बीच कडा प्रतिस्पर्धा हुने गर्थ्यो । तर, पछिल्ला वर्षहरुमा केही ठूला ऋण प्रोभिजनिङ गर्नुपरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक यो प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

 पछिल्लो २ वर्ष यता नबिललाई टक्कर दिने गरी दुई बैंकको उदय भएको देखिन्छ । ती बैंक हुन् एनआइसी एशिया र बिग मर्जरको सिनर्जीबाट लम्किँदै गरेको ग्लोबल आइएमई बैंक । यी दुई बैंकको नयाँ ‘भर्सन’ले वर्षौंदेखि बैंकिङ क्षेत्रको लिडर बन्दै आएको नबिललाई टक्कर दिन थालेको छ ।

पछिल्लो समय वाणिज्य बैंकहरुमा ३ ठूला बैंक प्रतिस्पर्धामा छन् । उक्त बैंकहरुले सार्वजनिक गरेको त्रैमासयताको वित्तीय विवरण हेर्दा तीन ठूला बैंकहरु नम्बर १ बन्ने होडमा देखिन्छन् ।

एनआइसी एशिया बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकबीच निकै प्रतिस्पर्धामा छन् । व्यवसाय विस्तारमा आक्रामक एनआइसि एशिया बैंक, बिग मर्जरबाट ठूलो बनेको ग्लोबल आइएमई बैंक र नबिल बैंक खुद नाफामा नम्बर १ बन्ने होडमा छन् ।

यी ३ वटै बैंकले ६ महिनामा नै २ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । ग्लोबलको खुदा नाफा २ अर्ब ६६ करोड रुपैयाँ छ । एनआइसी एशिया बैंकले २ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको छ भने नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि एनआइसी एशिया बैंकले सबैभन्दा धेरै १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो भने नबिल र ग्लोबलले १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका थिए ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा भने नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको थियो भने ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड र एनआइसी एशिया बैंकले ३ अर्ब २५ कराड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

नेपाल राष्ट्र बैंकको मासिक तथ्यांक हेर्दा अघिल्ला दुई महिनाहरुमा नबिल र ग्लोबल आइएमई बैंकलाई नाफामा एनआइसी एशिया बैंकले जितेको थियो । तर, दोस्रो त्रैमासमा भने ग्लोबलले सबै बैंकलाई पछि पारेको छ ।

ग्लोबल आइएमई बैंक अहिले वाणिज्य बैंकहरुमध्येमा चुक्ता पूँजीको हिसाबले सबैभन्दा ठूलो बैंक बनेको छ । दोस्रो त्रैमासको तथ्यांक अनुसार बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुगिसकेको छ । चुक्ता पूँजीमा एनआइसी एशिया बैंक र नबिल बैंक केही पछाडि छन् । तर नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्झौता गरेको छ। मर्जर सकिएपछि नबिल बैंकको पनि चुक्ता पूँजी ग्लोबल आइएमई बैंकको हाराहारी पुग्नेछ ।

नबिल बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको १० अर्ब ८ करोड रुपैयाँ छ । निक्षेप र कर्जा लगानीमा भने एनआइसी एशिया बैंक अगाडि छ । बैंकले २ अर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने ग्लोबल आइएमई बैंकले २ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। नबिल बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

पछिल्लो समय व्यवसाय विस्तारमा आक्रामक देखिएको कारण एनआइसी एशिया बैंकको चुक्ता पूँजी कम भए पनि नाफामा भने नम्बर १ बैंकहरुसँग प्रतिस्पर्धामा देखिन्छ ।

प्रतिशेयर आम्दानीमा एनआइसी एशिया बैंक निकै अगाडि देखिएको छ । गएको आर्थिक वर्षको कमाइबाट बोनस वितरणमा राष्ट्र बैंकले रोक लगाएको कारण समेत एनआइसी एशिया बैंकको प्रतिशेयर आम्दानी धेरै भएको हो ।

उसको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५४ पैसा छ भने नबिल बैंकको २३ रुपैयाँ ५८ पैसा र ग्लोबल आइएमई बैंकको २२ रुपैयाँ ३८ पैसा रहेको छ ।

Ad