Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुले ६ महिनामा सरकारलाई बुझाए १४ अर्ब बढी आयकर, कुन बैंकले कति ?

२०७८ माघ १३ गते

बैंकिङ खबर/ चालु आवको ६ महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुले सरकारलाई १४ अर्ब बढी आयकर बुझाएका छन् । आर्थिक वर्ष २०७८/७९ को ६ महिना अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले गरेको नाफाबाट आयकर वापत १४ अर्ब ११ करोड ७६ लाख रुपैयाँ सरकारलाई बुझाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आम्दानीको ३० प्रतिशत कर सरकारलाई तिर्नुपर्ने कानुनी व्यवस्था छ । यो आयकर रकम वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७।७८ को ६ महिना अवधिमा तिरेको भन्दा ८५ करोड ४१ लाख अर्थात ६.४४ प्रतिशतले बढि हो । गत आवको ६ महिनामा बैंकहरुले १३ अर्ब २६ करोड ३४ लाख रुपैयाँ आयकर वापत सरकारलाई बुझाएका थिए ।

कुन बैंकले कति बुझाए ?

एनआईसी एशिया बैंक सरकारलाई सबैभन्दा बढी आयकर तिरेको छ । यस बैंकले ६ महिनामा १ अर्ब २ करोड ९४ लाख रुपैयाँ कर बुझाएको छ ।

यस्तै ग्लोबल आईएमई बैंकले पनि यस अवधिमा १ अर्ब बढी कर बुझाएको छ । बैंकले जनता बैंकसहित करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्वीजिशन गरेपछि खुद नाफामा समेत सबल बनेपछि बैंकले बुझाउने आयकर रकम पनि बढेको हो । बैंकले सरकारलाई १ अर्ब १ करोड ६६ लाख रुपैयाँ आयकर बुझाएको छ ।

थप दश बैंकले सरकारलाई ५० करोड रुपैयाँदेखि एक अर्ब रुपैयाँसम्म आयकर बुझाएका छन् । चालु आवको ६ महिना अवधिमा तेस्रो ठूलो आयकर बुझाएको नबिल बैंकले सरकारलाई ९३ करोड ५३ लाख बुझाउँदा राष्ट्रिय वाणिज्य बैंकले ८२ करोड २६ लाख, प्राइम कमर्सियल बैंक ७३ करोड ११ लाख, एनएमबि बैंक ७१ करोड २८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक ६९ करोड ६१ करोड, सिद्धार्थ बैंक ६९ करोड ४३ करोड, कृषि विकास बैंक ६६ करोड ४६ लाख, मेगा बैंक ६० करोड ३२ लाख, प्रभु बैंक ५७ करोड ९२ लाख र सिटिजन्स बैंकले सरकारलाई आयकर वापत ५१ करोड ७४ लाख रुपैयाँ बुझाएको छ ।
चालु आवको ६ महिना अवधिमा पन्ध्र बैंकले ५० करोडभन्दा कम आयकर बुझाएका छन् । सबैभन्दा कम कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा भने सिभिल बैंक परेको छ ।

सिभिल बैंकले चालु आवको ६ महिनामा २२ करोड ८२ लाख रुपैयाँ सरकारलाई कर बुझाएको हो । नेपाल बंगलादेश बैंक र नेपाल बैंक कम आयकर तिर्ने बैंकको दोस्रो र तेस्रो नम्बरमा रहेका छन् । सरकारलाई ५० करोडभन्दा कम आयकर बुझाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, माछापुच्छ्रे, कुमारी, एनसीसी बैंक, एभरेष्ट, नेपाल एसबिआई, सनराइज, हिमालयन, लक्ष्मी, सेञ्चुरी, बैंक अफ काठमाण्डू, नेपाल बैंक, नेपाल बंगलादेश बैंकर सिभिल बैंक रहेका छन् । यी बैंकहरुले २२ करोड ८२ लाखदेखि ४७ करोड ५७ लाख रुपैयाँसम्म आयकर बुझाएका छन् ।

गत आर्थिक वर्षको ६ महिना अवधिको तुलनामा ९ बैंकले कम आयकर बुझाएका छन् भने १८ बैंकको आयकर बढेको छ । सिभिल बैंकको नाफा गत आवको ६ महिनाको तुलनामा उच्च रुपमा बढेसँगै आयकर रकम सबैभन्दा धेरै बढेको छ । बैंकले बुझाउने आयकर २११ प्रतिशतले बढेको छ ।

बैंकले गत आवको ६ महिनामा ७ करोड ३३ लाख आयकर सरकारलाई बुझाएकोमा चालु आवको ६ महिनामा बैंकले २२ करोड ८२ लाख रुपैयाँ आयकर तिरेको छ । सिद्धार्थ बैंकको ६५.८६ प्रतिशत, सेञ्चुरी ५४.७७ प्रतिशत, नेपाल एसबिआई ५२.०४, र एनसीसी बैंकले सरकारलाई बुझाएको आयकर ५१.३४ प्रतिशतले बढेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स, माछापुच्छ्रे, मेगा, एनआईसी एशिया र कृषि विकास बैंकले बुझाएको आयकर १० देखि ४९ प्रतिशतसम्म बढेको छ । समीक्षा अवधिमा ७ बैंकको आयकर करम एकदेखि दश प्रतिशतसम्म बढ्दा ९ बैंकको घटेको छ ।

आयकर घट्ने बैंकको शीर्ष स्थानमा रहेको नेपाल बैंकको आयकर ६२.९२ प्रतिशतले घटेर २६ करोड ८९ लाख रुपैयाँमा झरेको छ । नेपाल बैंगलादेश बैंक ३४.६७ प्रतिशत, कुमारी बैंक २२.१२ प्रतिशत, सनराइज २१.३९ प्रतिशत, बैंक अफ काठमाण्डू १२.९२ प्रतिशत, एभरेष्ट बै.क १२.७९ प्रतिशत, प्राइम कमर्सियल बैंक ६.२३ प्रतिशत, सानिमा बैंक १.५२ प्रतिशत र लक्ष्मी बैंकले बुझाएको आयकर रकम ०.९५ प्रतिशतले घटेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आयकर वापत ३० प्रतिशत कर तिर्नुपर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछिको रकमबाट ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ ।

 

Ad