Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकमा कोरोना: ५ हजार बढी कर्मचारी संक्रमित, करिब ३ प्रतिशत शाखा कार्यालय बन्द

२०७८ माघ ११ गते


बैंकिङ खबर/ कोरोनाको तेस्रो लहरले अन्य क्षेत्र जस्तै यसको प्रत्यक्ष असर बैंक वित्तमा पनि परेको छ । बैंकिङ क्षेत्र दैनिकरूपमा भिडभाड हुने ठाउँ अन्तर्गत पर्ने गर्दछ । सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यो क्षेत्रलाई संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा लिइँदै आएको छ । कोरोनाको प्रभावले बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा पनि समस्या देखिएको छ ।

कर्मचारीमा कोरोना संक्रमण देखिन थालेसँगै सतर्कता अपनाउँदै यसबीचमा वाणिज्य बैंकका करिब ३ प्रतिशत शाखा कार्यालय बन्द भएका छन् । हाल देशभर ४ हजार ८४७ वटा बैंकका शाखा कार्यालय सञ्चालनमा छन् । यसबीचमा वाणिज्य बैंकमा कार्यरत ५ हजार १ सय २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण हुन थालेपछि बैंकिङ सेवा प्रभावित बनेको छ ।

नेपाल बैंकर्स संघको सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार मुलुकभरका १७० वटा शाखा कार्यालय कोरोना भाइरस संक्रमणको जोखिमसँगै बन्द भएका थिए । बैंकर्स संघको तथ्यांक अनुसार अनुसार सबैभन्दा बाग्मती प्रदेशमा विभिन्न वाणिज्य बैंकका ९४ वटा शाखा कार्यालय बन्द भएका छन् ।

साथै, प्रदेश नम्बर १ मा १४ वटा कार्यालय, गण्डकी प्रदेशमा १३ वटा, लुम्बिनी विभिन्न प्रदेशमा वाणिज्य बैंकका ८ वटा शाखा कार्यालय बन्द भएका छन् । त्यसैगरी मधेश र सुदुरपश्चिम प्रदेशमा ५/५ वटा र कर्णाली प्रदेशमा ३ वटा शाखा कार्यालय बन्द छन् ।

बैंकर्स संघका अनुसार हालसम्म १७ वटा वाणिज्य बैंकका १४२ वटा शाखा कार्यालय बन्द भएका छन् । जसमा सबैभन्दा बढी एनआईसी एशिया बैंकका ३५ वटा शाखा कार्यालय बन्द भएका छन् । साथै नबिल बैंकका १९ वटा, प्राइभ बैंक र राष्ट्रिय वाणिज्य बैंकका १५÷१५ वटा शाखा कार्यालय बन्द भएका छन् ।

साथै, प्रभु बैंकका ९ वटा, सेञ्चुरी बैंका ८ वटा, सिभिल र मेगा बैंकका ७/७ वटा, सनराइज बैंका ६ वटा, ग्लोबल आईएमई बैंकका ४ वटा शाखा कार्यालय बन्द भएका छन् । त्यसैगरी नेपाल इन्भेष्टमेन्ट, एनएमबि र सिद्धार्थ बैंकले ३÷३ वटा शाखा कार्यालय बन्द गरेका छन् भने कुमारी र माछापुछ्रे बैंकले २/२ वटा र नेपाल बंगलादेश बैंकले एउटा शाखा कार्यालय बन्द गरेका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । 

राष्ट्र बैंकले दिएको ४ बुँदे निर्देशन :

१. नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरि सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने ।

२. सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने ।

३. बैंक तथा वित्तीय संस्थाद्वारा संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्ने ।

४. बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी निश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्ययमबाट गर्ने व्यवस्था मिलाउने ।

बैंकमा जानू परेमा यी कुरामा ध्यान दिनुहोस् 

सकभर डिजिटल कारोबारमा बढी जोड दिनुहोस् । जसले गर्दा तपाई घरमै बसेर बैंकिङ कारोवार गर्न सक्नुहुनेछ ।

यदि बैंकमै जानु परेमा बैंकको ढोका सकबर आफैँ नखोल्नु होस् । गार्ड दाईलाई भन्नुहोस् । खोल्नै परे ढोकाको नयाँ ठाउँमा (हेन्डल बाहेक अन्य ठाउँमा) समाएर पेल्नुहोस् वा तान्नुहोस् ।

बैंकमा राखिएको सेनिटाईजर हातका औँला, हत्केलामा मात्र होईन नाडीसम्म प्रयोग गर्नुहोस् ।

यदि बैंकमा भिड देख्नु भयो भने, फरक्क फर्कनुहोस् । खाली भएपछि बैंक भित्र छिर्नुहोस् ।

 पालो छिट्टै आउँदैछ भने सकबर छुट्टै उभिनु होस्, बैंकको बेन्च प्रयोग नगर्नु होस् । गर्नै परेमा फराकिलो ग्यापमा बस्नुहोस् । बस्दै गर्दा हातले बेन्चको हेन्डल नछुनुहोस् । बैंकका हरेक कुरा छुनुभन्दा पहिला कोरोना हुन सक्छ भन्ने कुरा ध्यानमा राखी सावधान अपनाउनुहोस् ।

चेक साट्न जानु भएको छ भनेः

सकभर चेक घरमै भरेर लैजानुहोस् । बैंकको भौचर डेक्सको प्रयोग नगर्नु होस् । गर्नै परे सावधान अपनाउनु होस्। प्रयोगपछि आफ्नो पालो कुर्ने बेलासम्म खल्तीमा चेक राख्नुहोस् । हातले आँखा मिच्ने, जस्ता काम नगर्नुहोस् । हात बाहिरै राख्नुहोस् ।

क्यासियरलाई चेक दिनु भन्दा पहिला चेकको पछाडि क्यासियरले देख्ने गरी दुईवटा सहि र मोबाईल नम्बर लेखेर दिनुहोस् । सकबर लेख्दा आफ्नै कलमको प्रयोग गर्नुहोस् । काउन्टर डेक्सलाई नछोई उभिनुहोस् ।

क्यासियरले पैसा गनेको हेर्नुहोस्, सकभर उसैसँग मनमन गन्नुहोस् । मेसिनमा गनेको पैसाको संख्या डिस प्लेमा हेर्नुहोस् । पैसा नगनी लैजानुस् भन्दिन तर गन्दा सावधान अपनाउनुहोस् ।

बैंकबाट फर्कनु भन्दा पहिला फेरि सेनिजाईजर प्रयोग गर्नुहोस, ढोका आफै नखोल्नुहोस् । पैसा सँगै कोरोना आएको त छैन । सावधान रहि रहनुहोस् ।                                                                                                        

 बैंकमा क्यास डिपोजिट गर्न जानु भएको छ भने :

भौचर डेक्समा जानुहोस्, सकबर, आफ्नै कलमको प्रयोग गरि पूर्ण सावधानका साथ भर्नुहोस । तपाई दैनिक जसो बैंकमा जानुहुन्छ भने अलिकति भौचर मागेर लैजानुस् । घरमै वा अफिसमा भरेर ल्याउनुहोस । त्यसो गर्दा अर्को पटक सबैले प्रयोग गरिरहेको भौचर डेक्स प्रयोग गरिरहनु पर्दैन ।

सकबर बैंकबाट फिर्ता पैसा लिनु नपर्ने गरि पैसा जम्मा गर्नुहोस् । काउन्टर डेक्सलाई नछोई उभिनुहोस् । आफ्नै खातामा जम्मा गर्दै हुनुहुन्छ रकम थोरै छ भने पैसा जम्मा भएको म्यासेज मोबाईलमा चेक गर्नुहोस् । म्यासेज आयो र पैसा जम्मा भएको ठिक छ भने भौचर लगेर तपाईले फाल्नुहुने हो भने भौचर नलग्नुहोस् त भन्दिन तर विचार गर्नुस् । अरूको खातामा, संस्थाको खातामा जम्मा गर्नु भएको छ भने सावधानका साथ भौचर सुरक्षित राख्नुहोस् ।

बैंकबाट जानु भन्दा पहिला फेरि सेनिजाईजर प्रयोग गर्नुहोस्, ढोका आफै नखोल्नु होस् । भौचर सँगै कोरोना आएको त छैन । सावधान रहिरहनुहोस् ।

Ad