
बैंकिङ खबर/ नेपालमा यो साता कोरोनाको संक्रमणको त्राससँगै बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैंक वित्तीय क्षेत्रमा यो साता कोरोना संक्रमणले सताएकाे छ । राष्ट्र बैंकको निर्देशन जारी, आरोप प्रत्यारोप, ठगी लगायत थुप्रै घटना एवम् गतिविधिहरु भएका छन् । समग्रमा, साताको सुरुवातदेखि बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु तल प्रस्तुत गरिएको छ :–
बैंक वित्तमा कोरोना बढ्यो

बैंक वित्तमा समेत कोरोना संक्रमणको दर बढ्न थालेको छ। साेमबारसम्म नेपाल राष्ट्र बैंकका १ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.गुणाकर भट्टले बैंकिङ खबरलाई जानकारी दिए । उनका अनुसार कर्मचारीमा कोरोना फैलिएसँगै राष्ट्र बैंकले ‘वर्क फ्रम होम’को नीति अवलम्बन गरेको छ । राष्ट्र बैंकले अत्यावश्यक बाहेक सबै सेवा तथा सुविधाहरु घरबाटै दिन निर्देशन दिएको हो ।
प्रवक्ता डा. भट्टका अनुसार आइतबारदेखि ‘वर्क फ्रम होम’ को सेवा शुरु गरिएको हो । उनले भने, ‘हामीले गत वर्ष नै वर्क फ्रम होमको नीति ल्याएका थियौं, बैंकहरुले पनि वर्क फ्रम होमकै सेवा सुरु गर्न सक्छन्, कोरोनाका कारण बैंकिङ सेवा पनि प्रभावित भएको छ ।’ राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।
यस्तै राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा तत्कालका लागि बन्द गरिएको छ । आइतबार बैंकका कर्मचारीमा कोराना पुष्टि भएकाले सोमबारदेखि बैंकिङ सेवा अवरुद्ध भएको हो। बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना पुष्टि भएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख लिलाराम ढुंगानाका अनुसार १० जना कर्मचारीमध्ये एक जनामा गम्भीर लक्षण देखिएको र बाँकी नौ जना कर्मचारी होम आइसोलेसनमा रहेका छन् । संक्रमित सुरक्षागार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ । चार दिनका लागि सेवा अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।
यस्तै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अधिकांश कर्मचरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै सीडीएससीले सेयरको घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ।सीडीएससीले माघ ११ गतेसम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको हो। यस्तै अन्य बैंक वित्तमा समेत कोरोना संक्रमण दर बढ्न थालेको छ ।
अग्रवाल परिवारको चर्चा, चारवटा बैंकको ८० करोड बढी रकम जोखिममा

यो साता अग्रवाल परिवारका नौ सदस्य वेपत्ता भएको घटनाले चर्चा छायो । अग्रवाल परिवारका नौ सदस्य फरार भएपछि यतिबेला विभिन्न बैंकबाट उनीहरुले लिएको ऋण जोखिममा परेको छ। नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यवसायिक घरानाका परिवार सम्पर्कविहीन बनेका हुन् । उनीहरुले काठमाडौं दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका थिए ।
ग्रीनलाइनले नेपाल इन्भेस्टमेन्ट बैंकमा ३२ करोड, मेगा बैंकमा २५ करोड, एभरेस्ट बैंकमा २२ करोड, ग्लोबल आइएमइ बैंकमा १८ करोड कर्जा भुक्तान गर्न बाँकी रहेको पाइएको छ । यसमा केही बैंकको २० प्रतिशतदेखि ७० प्रतिशतसम्म धितो भएको जनाइएको छ ।
ग्रिनलाईनको तर्फबाट ऋण लिएका अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने कानुनी प्रक्रिया अगाडि बढाएको छ । सञ्चालकहरुको नाममा ३५ दिनको सूचना निकालेर बैंकले ऋण तिर्न आग्रह गरेको छ ।
ग्रिनलाइनले इन्भेष्टमेन्ट बैंकमा करिब ५ करोड रुपैयाँ बराबरको धितो दिएका छन् भने बाँकी मदिराको स्टक बैंकले राखेको छ । हाइपोथेटिकल ऋणको मात्रा बढी भएकाले धितोबाट मात्र ऋण असुली हुने सम्भावना रहँदैन। त्यसैले इन्भेष्टमेन्ट बैंकले सार्वजनिक सूचना निकालेर ऋण उठाउने प्रक्रिया शुरु गरेको बताइएको छ।
इन्भेष्टमेन्ट बाहेक अरु बैंकले भने अहिलेसम्म सार्वजनिक रुपमै ऋण उठाउने कानूनी प्रक्रिया शुरु गरेको देखिँदैन। उनीहरुले सेन्टरको मदिरा स्टक भएको गोदाममा सिलबन्दी गरेका छन् । गोदाममा इन्भेष्टमेन्टसँगै एभरेष्टले पनि ताला लगाएको छ। स्रोतहरुबाट प्राप्त तथ्यांकलाई हेर्दा बैंकहरुले दिएको सबै ऋण हाइपोथेटिकल नभएको देखिएको छ ।
विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति धितोमा बैंकले ऋण प्रवाह गरेको देखिएको छ। मेगा बैंकले स्टक र धितो दुवै राखेर ऋण दिएको छ । एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ। त्यस्तै ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ।
‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी

नेपाल राष्ट्र बैंकले ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी गरेको छ। मार्गदर्शनमा इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका राष्ट्र बैंकबाट जारी वित्तीय साक्षरता ढाँचाअनुसार नै आफ्ना गतिविधि नियमित र व्यवस्थित बनाउनुपर्ने उल्लेख छ। वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यो मार्गदर्शन महत्वपूर्ण हुने राष्ट्र बैंकले जनाएको छ।
मार्गदर्शनको मुख्य उद्देश्य वित्तीय साक्षरताका लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्ने, लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्ने र वित्तीय साक्षरता कार्यक्रमको अनुगमनका लागि आधार निर्माण गर्ने रहेका छन्।
त्यस्तै वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने यो मार्गदर्शनका उद्देश्य रहेका छन्।
अब इजाजतपत्र प्राप्त संस्थाले वित्तीय साक्षरता अभिवृद्धिका लागि विभिन्न प्रकारका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेछ।
त्यस्तै वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउँदै वित्तीय प्रणाली प्रति अभ्यस्त बनाई धेरैभन्दा धेरै नागरिकमा औपचारिक वित्तीय प्रणालीमा पहुँच पुर्याउने अभिप्रायले वित्तीय चेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।
२० करोडको ट्रेजरी बिल जारी
नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेकाे छ । केन्द्रीय बैंकले माघ ४ गतेबाट ९१ दिने ट्रेजरी बिल जारी गरेकाे हाे । यो ट्रेजरी बिल आउँदो २०७९ वैशाख ६ गते परिपक्व हुनेछ।
नियुक्त

माछापुच्छ्रे क्यापिटल लिमिटेडको कायम मुकायम प्रभु कार्यकारी अधिकृतमा गोविन्दप्रसाद शर्मा नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत शर्मालाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। सञ्चालक समितिले माघ १ गतेबाट लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि शर्मालाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन्।
रमेशकुमार श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्।
नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत दिएको छ।
बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेका बैंकले जनाएको छ।
छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी चयन भएका छन् । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रामचन्द्र जोशीलाई सर्वसम्मत चयन गरेको हो ।
बैंकहरुको निक्षेप एकैदिन १४ अर्बले घट्यो

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकका माघ २ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८९ अर्ब रुपैयाँमा खुम्चिएको छ।
आईपीओ निष्कासनको अनुमतिकाे तयारी

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिने तयारी गरेको छ। बोर्डले एकै पटक पाँच कम्पनीलाई सेयर निष्कासनको अनुमति दिन लागेको हो।
गत साउन १४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमतिपछि बोर्डले कुनै कम्पनीलाई स्वीकृति दिएको थिएन। लामो समयदेखि रोकिएको आईपीओ स्वीकृतिको प्रक्रियाले अब निरन्तरता पाउने बोर्डले जनाएको छ।
बोर्डका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चर्स लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरिएको छ।
४६ अर्ब ७० करोड निर्ब्याजी ऋण

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ४६ अर्ब ७० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ। मुद्रा कोषले इनह्यान्स क्रेडीट फ्यासिलिटी (इसिएफ) मार्फत ४६ अर्ब ७० करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण शुन्य ब्याजदरमै दिएको हो।
उक्त ऋण सहायता मध्ये करिब १३ अर्ब रुपैयाँ (११० मिलियन अमेरिकी डलर) बराबरको रकम पहिलो किस्ता वापत प्राप्त हुनेछ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम एक हप्ताभित्रै नेपालले पाउने छ।
बाँकी रकम बिभिन्न किस्तामा क्रमशः प्राप्त हुने गरि स्विकृत भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कोभिड १९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दीगो विकास तथा गरिबी निवारण सम्बन्धी नेपालले लिएको सुधारका काम र प्रयासलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास लिइएको छ।
बीमा समितिले बैंकहरुमा निक्षेप राख्ने

बीमा समितिले बैंकहरुमा निक्षेप राख्ने भएको छ । समितिले एक सूचना जारी गर्दै सात दिनभित्र निक्षेप राख्न चाहाने वाणिज्य तथा विकास बैंकले दरभाउ र वित्तिय विवरणसहित सिलबन्दी दरभाउ पत्र पेश गर्न आह्वान गरेको छ ।
समितिमा रहेको निक्षेप राख्नका लागि बैंकहरुले अधिकतम व्याजदर, पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सान विवरण पेश गर्नु पर्नेछ ।
त्यस्तै, बैंकहरुको निष्कृय सम्पत्ति, कर्जा निक्षेप अनुपात, पुँजी पर्याप्तता कोषको विवरण समेत पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ।
मानुषी लघुवित्त र यूनाईटेड इन्सुरेन्समा खुल्यो रोजगारी

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड तथा यूनाईटेड इन्सुरेन्सले विभिन्न पदमा रोजगारी खुलेको छ। लघुवित्त कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख) २, वरिष्ठ सहायक (शाखा प्रमुख) ६ जना र कनिष्ट सहायकमा ५ जना गरी १३ जना कर्मचारी माग गरेको छ।
इच्छुक उम्मेद्वारले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय वा कम्पनीको ठेगानामा आवेदन दिन सकिने कम्पनीले बताएको छ। त्यस्तै यूनाईटेड इन्सुरेन्स कम्पनीले पनि सिनियर अफिसर (डिपार्टमेन्टल हेड) १ जना र केहि सिनियर अफिसर्सको माग गरेको छ। इच्छुक उम्मेद्वारले ७ दिनभित्र कम्पनीको ठेगानामा आवेदन दिन सक्नेछन्।