February 23rd, 2016

तरलता व्यवस्थापनमा राष्ट्र बैँकको नयाँ कदम

NRBचालू आर्थिक वर्षको ६ महिनाको अवधिमा राष्ट्र बैँकले ३ खर्ब ४ अर्ब ८५ करोड रुपैँया बराबरको तरलता प्रशोचन गरेको जनाएको छ । राष्ट्र बैंकले ट्रेजरी विल्स, विभन्न ऋणपत्र, रिभर्स रिपो, निक्षेप वोलकवोलबाट तरलता तान्दै आएको छ । बैँकका अनुसार, निक्षेप बोलकबोलमार्फत १ खर्ब ९८ अर्ब ४० करोड तरलता प्रशोचन गरिएको छ जसका लागि ५४ करोड ९ लाख ब्याज लागत लागेको छ । रिभर्स रिपोमार्फत टर्नओभरको आधारमा ९७ अर्ब ३५ करोड तरलता प्रशोचन गर्दा व्याज लागत ६४ लाख रुपैँया खर्च भएको छ । त्यस्तै, सोझै विक्रि बोलकबोलमार्फत ९ अर्ब १० करोड रुपैँयाको तरलता प्रशोचन गर्दा व्याज लागत ३ करोड ६२ लाख लागेको बैँकले जनाएको छ । यसरी हेर्दा, पटकपटक गरि तरलता प्रशोचन गर्दा राष्ट्र बैँकको कुल व्याज लागत ५८ करोड ३५ लाख खर्च भएको छ । 


विगत चार वर्षदेखि लगातार अधिक तरलताको चाप बेहोरिरहेको बैँकिङ क्षेत्रमा भारतीय नाकाबन्दीका कारण झन् समस्या थपिएको छ । एकातिर, निक्षेप संकलन र कर्जा विस्तारबीच तालमेल नमिल्दा बजारमा तरलता थुप्रिरहेको छ भने अर्कोतिर रेमिटेन्स बढ्ने तर भारतीय नाकाबन्दीका कारण सरकारी खर्च र बस्तु तथा सेवा आयात हुन नसक्दा तरलताको समस्याले बढावा पाइरहेको छ । पछिल्ला वर्षहरुमा निक्षेपको तुलनामा कर्जाको वृद्धिदर कम छ । मुलुकमा लागनीमैत्री वातावरणको सिर्जना हुन नसक्दा र बैंकिङ क्षेत्रले नयाँ लगानीको क्षेत्रको पहिचान गर्न नसक्दा अधिक तरलताको समस्या यथावत रहेको हो । सरकारले खर्च गर्न नसक्दा अहिले सरकारी ढुकुटीमा ७२ अर्ब रुपैयाँ थुप्रिएको छ । तरलता थुप्रिन थालेपछि ब्याज दरमा उल्लेख्य गिरावट आइरहेको छ ।

 

राष्ट्र बैँकका अनुसार, चालु आर्थिक वर्षको ६ महिनाभित्र बैँकले विदेशी विनिमय बजार अर्थात वाणिज्य बैँकहरुबाट २ अर्ब २३ करोड अमेरिकी डलर खुद गरि २ खर्ब ३४ अर्ब १३ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड अमेरिकी डलर वाणिज्य बैँकहरुबाट खुद गरि १ खर्ब ५७ अर्ब २० करोड खुद तरलता प्रवाह गरिएको थियो । २०७२ पौष मसान्तमा निक्षेप संकलन बोलकबोल बक्यौता रकम १ खर्ब ४१ अर्ब १५ करोड रुपैँया रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोलमार्फत ७५ अर्ब तथा रिभर्स रिपोमार्फत २ खर्ब ६० अर्ब ५० करोड रुपैँयाको तरलता प्रशोचन गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]