बैंकिङ खबर । सरकार साझेदार दलहरु फरकफरक हुँदा विभिन्न पक्षबीच द्वन्द्वात्मक अबस्था देखिएको छ । यस्तो द्वन्द्वको अबस्था संसदमा छताछुल्ल देखिएको छ । संसदमा सांसद अमनलाल मोदी र गभर्नर महाप्रसाद अधिकारीबीच जुहारी चल्यो । मोदीले अर्थमन्त्रीलाई असफल बनाउन राष्ट्र बैंक लागेको आरोप लगाए ।
आइतबार लेखा समितिमा आयोजित छलफलमा सांसद मोदीले अर्थसचिव र र गभर्नर अर्थमन्त्री विरुद्ध लागेको बताए । उनले भने ‘तपाईंहरुको ट्युनिङ मिलिरहेको छैन’ उनले विलासिताका सामानको उपयोग घटाउने राष्ट्र बैंकको कुरालाई सरकारी अधिकारीबाटै त्यसको शुरुआत गर्न चुनौती दिए । ‘गभर्नरले किन महँगो गाडी चढ्नु, अरु मन्त्री, प्रधानमन्त्रीले पनि त्यसो किन गर्नु, अब खर्च घटाउन आफैबाट सुरु गर्नुस् उनले भने । बैंकहरुले पहुँचवालालाई मात्र ऋण दिने गरेको गुनासो प्रति उनले प्रस्न गरे ।
यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जर्नादन शर्मासँग आफ्नो तादाम्यता छैन भन्नु गलत भएको बताएका छन्। लेखा समितिमा आइतबार आयोजित छलफलमा सांसद अमनलाल मोदीले अर्थमन्त्रीलाई असफल बनाउन राज्यको संयन्त्र नै लागिरहेको भन्ने गुनासो आइरहेको प्रसंग कोट्याउँदै अर्थसचिव मधुकुमार मरासिनी र गभर्नर महाप्रसाद अधिकारीलाई ‘तपाईंहरुको ट्युनिङ मिलिरहेको छैन हो रु’ प्रश्न गरेका थिए । सांसद मोदीले गरेको प्रश्नको जवाफ फर्काउँदै गभर्नर अधिकारीले भने, ‘हामी व्यूरोक्रेसीमा काम गर्नेले मान्छे, संस्था र प्रणालीमा आधारित रहेर काम गर्छौं, तादाम्यता छैन भन्नु गलत हो । हामी निरन्तर छलफल गरेर निर्णय लिन्छौं ।’
यस्तै गर्भनर अधिकारीले सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग भएको बताएका थिए । उनले भने, ‘सेयर बजार स्थिर हुनुपर्छ। अहिले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने कुरा सेयर बजारमार्फत झल्किन्छ ।’ सेयर बजार पुँजी निर्माणको आधार रहेको पनि गभर्नर अधिकारीको भनाइ छ । ‘अर्थतन्त्रका सूचक हेर्दा सेयर बजारलाई समेत हेर्ने गरिन्छ’, उनले भने ।