Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अमेरिकी डलरकाे भाउ घटबढ हुँदा नेपालमा कस्ताे असर पर्छ?

२०७८ पुष १६ गते

 

बैंकिङ खबर।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ। तर अमेरिकी डलरको भाउमा उतार चढाव भइरहन्छ। डलरकाे भाउमा बृद्धि हुँदा समग्ररूपमा अन्तर्राष्ट्रिय बजार नै प्रभावित हुने गर्छ। अमेरिकी डलर बढ्दा वा घट्दा नेपालमा केही फाइदा वा घाटा दुवै छन् । यसले नेपाली बजारमा कस्ताे प्रभाव पार्छ त ?

विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात-निर्यात, जनस्तरको सम्पर्क र आवतजावत जस्ता विषयका कारण डलरको भाउमा हुने उतारचढावकाे सोझाे असर नेपाली अर्थतन्त्रमा पनि पर्ने गर्छ।

हामीले यसपटक डलरको तुलनामा नेपाली रुपैयाँ खस्कँदा हुने केही फाइदा र बेफाइदाबारे जानकारी बटुलेका छौँ।

फाइदा
१) निकासी: नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपाली निकासी वा सामानको भाउ अन्तर्राष्ट्रिय आयातकर्ताहरूको निम्ति आकर्षक हुन पुग्छ र निकासीलाई यसले टेवा पुग्न सक्छ। तर नेपालको निर्यात वा निकासी सीमित छ।

राष्ट्र बैंकको पछिल्लो विवरणमा नेपालले गत ५ महिनामा ८ खर्बकाे वस्तु आयात गर्दा १ खर्बकाे मात्र निर्यात गरेकाे छ। त्यसैले निकासीको परिमाण र वस्तु सीमित भएकाले यसबाट हुने फाइदा पनि स्वाभाविक रूपमा सीमित नै हुने देखिन्छ।

२) पर्यटन आय: विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी बढाइदिन्छ। नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ। पर्यटनको योगदान नेपाली अर्थतन्त्रमा बहुआयामिक हुने गर्छ।

देशको विदेशी मुद्रा आर्जनको एक प्रमुख स्रोतमात्र नभई यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा ठूलो योगदान पुर्‍याउँछ। लगानी गर्न खोज्नेहरूलाई पनि कमजोर नेपाली मुद्राले केही प्रोत्साहन मिल्न सक्छ।

३) विप्रेषण आय: लाखौँ नेपालीहरू विदेशमा काम गर्छन्। कैयौँले त्यहाँ कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन्। उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ। विप्रेषण आयमा हुने वृद्धिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ।

बेफाइदा

१) आयात: नेपालले गत ५ दश महिनामा १ खर्ब रुपैयाँ बराबरको निर्यात र ८ खर्ब रुपैयाँको आयात गरेको छ। डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वत: बढ्छ। उसै त कहालीलाग्दो स्थितिमा रहेको व्यापार घाटा त्यसो हुँदा झन् बढ्छ।

यो घाटाको अर्को नराम्रो असर चालु खाता तथा शोधनान्तरमा पर्छ। विदेशी मुद्राको सञ्चिति पनि घट्छ। अहिले नै यो सञ्चितिमा चाप पर्न थालेको देखिन्छ।

२) महँगी: डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन्। सियोदेखि गाडीसम्म आयातमा निर्भर नेपालको निम्ति यो ठूलै बेफाइदा हुन्छ। नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ। तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्छ। इन्धनको मूल्य चर्को हुन सक्छ।

३) विद्यार्थी शुल्क: दशौँ हजार नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। उनीहरूले त्यहाँ विदेशी मुद्रामा पैसा तिर्नु पर्छ। डलरको भाउ बढ्नेबित्तिकै त्यसले ती विद्यार्थीको परिवारमाथि एक्काशी आर्थिक बोझ थपिन्छ। डलरको भाउ बढ्दै गए यसमा चाप पर्छ।

नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदाभन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन्। अर्को प्रमुख बेफाइदा चाहिँ नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्छ। विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुन सक्छ।